धरान : पत्रकार महासङ्घका पूर्व सभापति तथा राष्ट्रिय समाचार समिति राससका सञ्चालक समिति अध्यक्ष पत्रकार धर्मेन्द्र झालाई विराटनगरमा कोशराज रेग्मी राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।
प्रदेश प्रमुख माननीय परशुराम खापुङले आज शुक्रवार बिहान पत्रकार महासङ्घ, मोरङद्वारा आयोजित कार्यक्रम बिच वरिष्ठ पत्रकार झालाई पुरस्कार प्रदान गरेका हुन् । झा पत्रकार महासङ्घका पूर्व सभापति तथा राष्ट्रिय समाचार समिति राससका सञ्चालक समिति अध्यक्ष हुन ।
‘कोशराज रेग्मी राष्ट्रिय पुरस्कार’ पीताम्बर-खिलेश्वरी स्मृति प्रतिष्ठानद्वारा स्थापना गरिएको हो । पत्रकार महासङ्घ, मोरङको आयोजनाबाट नेपालको पहिलो पत्रकार मानिएका मोतीराम भट्टको स्मृति दिवसका पुरस्कृत गरिँदै आएको छ । यस वर्ष भट्ट स्मृति दिवस २८ गते परेता पनि उक्त राष्ट्रिय शोक परेकाले आज शुक्रवार गरिएको हो ।
उक्त अवसरमा प्रदेश प्रमुख परशुराम खापुङले सत्य समाचार सम्प्रेषण हुनु नै पत्रकारिताको धर्म भएको बताए । पुराना कुरा सम्झँदै उनले भने ‘सन् १९७२ मा अमेरिकामा राष्ट्रपति रिचर्ड निक्सनले वासिङ्टन डिसीस्थित रहेको डेमोक्र्याटिक पार्टीको भवन वाटरगेटमा महत्त्वपूर्ण कागजात चोरीको आरोप लाग्यो । 
पत्रकारहरूले खोजले उक्त कुरा पुष्टि भयो र राष्ट्रपतिलाई महाभियोग लागी बर्खास्त भए । पत्रकारिता सत्यमा रहँदा शक्तिशाली व्यक्तिलाई पनि महाभियोग लाग्छ ।’
वरिष्ठ पत्रकार झाले मूर्धन्य व्यक्तित्व कोशराज रेग्मीसँग आफ्नो नाम जोडिनु अहोभाग्य भएको बताए । नेपाली पत्रकारिता क्षेत्रमा विचलन आएको भन्ने टिप्पणीका बारेमा उनले भने ‘पहिलो कुरा हामी प्रतिबद्धतामा छौ कि छैनौ ? मनन गरौँ, पत्रकारिताप्रति प्रतिबद्धतामा छौ भने विचलन छैन, प्रतिबद्धताबाट टाढिएका छौ भने सुधारिएर पुनः प्रतिबद्धतामै फर्किनुपर्‍यो ।’
कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवको पनि उपस्थिति थियो । महासङ्घका उपाध्यक्ष मोहन भट्टराईको सभापतित्व गरेको समारोह सचिव नेत्र अधिकारीले सञ्चालन गरेका थिए ।