धरान : दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटबल प्रतियोगिताको उपाधि होलिल्याण्ड स्कुलले चुमेको छ । शनिवार भएको रोमाञ्चक फाइनल खेलमा होलिल्याण्डले डिपोलाई ५६-५५ को झिनो अन्तरले पराजित गर्दै उपाधि हासिल गरेको हो ।

विजेता होलिल्याण्डले उपाधि सँगै नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपविजेता डिपो स्कुलले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

रोमाञ्चक प्रतिस्पर्धामा पहिलो क्वाटरमा डिपोले १२-८ अङ्कको अन्तरले अग्रता लिए । दोस्रो क्वाटरमा समेत डिपोले १८-१२ अङ्कको अग्रता लिए । तर तेस्रो क्वाटर र चौथो क्वाटरमा होलिल्याण्ड सम्हालिँदै २१–१९ र १५–६ अङ्कको अग्रता सहित उपाधि सम्म पुग्न सफल भयो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका करुण तामाङ घोषित भए । उनले नगद दुई हजार ५ सय, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिता अवधिभरि चार खेल वाट व्यक्तिगत ८४ अङ्क जोड्दै हाइ स्कोरर उपाधि विजेता डिपो स्कुलका रूपक श्रेष्ठले नगद २ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगिताको इमर्जिङ टिम उपाधि प्रभात इङ्लिस बोर्डिङ स्कुल घोषित भए । उनले ट्रफि र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसनको आयोजना गरिएको थियो । थ्री पोइन्ट कम्पिटिसन च्याम्पियन सियोन स्कुलका रिसव कुवर वने । उनले थ्री पोइन्ट कम्पिटिसनमा सहभागी ८ जनालाई हराउँदै च्याम्पियन वने । उनले नगद दुई हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गरे ।

विजेता तथा उपविजेता खेलाडीहरूलाई कार्यक्रमका सभाध्यक्ष धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र वेघा, पूर्व सङ्घीय सांसद जयकुमार राई, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, दिवङ्गत रेवाहाङका बाबा आमा रेवतिरमण राई सुजता राई लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता उदयमान बास्केटबल खेलाडी रहेका दिवङ्गत रेवाहाङ राईको स्मृतिमा रेवाहाङको परिवार, धरान मेघा कलेज र धरान बास्केटबल सङ्घको सहकार्यमा सम्पन्न भएको हो । रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो ।

उनको सम्झनामा उनको परिवारले दुई लाख रुपैयाँको अक्षय कोषको स्थापना गरी गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता सुरु गरिएको थियो । १६ वटा टिमले सहभागिता जनाएको प्रतियोगितामा प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घको रहेको थियो ।