धरान : दोस्रो धरान मेघा रेवाहाङ मेमोरियल अन्तर स्कुल बास्केटबल प्रतियोगिताको फाइनलमा डिपो स्कुल र होलिल्याण्ड स्कुल भिड्ने पक्का भएको छ ।  

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा डिपो स्कुलले धरान आदर्शलाई ६३-४८ र दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्डले धरान उच्चलाई २९-१३ अङ्कले पराजित गर्दै फाइनलमा भेट पक्का गरेको हो ।

पहिलो सेमिफाइनल खेलमा डिपो र धरान आदर्शले प्रत्येक क्वाटरमा २२-६, ११-१२, १०-१८ र २०-११ अङ्क जोडेका थिए । डिपो स्कुलका रूपक श्रेष्ठले उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत २४ अङ्क जोडेका थिए ।

दोस्रो सेमिफाइनल खेलमा होलिल्याण्ड र धरान उच्चले प्रत्येक क्वाटरमा ७-१, ८-८, ३-४ र ११-० अङ्क जोडेका छन् । खेलमा होलिल्याण्ड स्कुलका करुन तामाङले व्यक्तिगत १४ अङ्क जोडे ।

उदयमान बास्केटबल खेलाडी रहेका दिवङ्गत रेवाहाङ राईको स्मृतिमा धरान मेघा हिमालयन कलेजद्वारा आयोजित प्रतियोगिताको फाइनल खेल भाद्र ३० गते शनिवार बिहान ११ बजे हुने भएको छ । रेवाहाङको परिवार, धरान मेघा कलेज र धरान बास्केटबल सङ्घको सहकार्यमा प्रतियोगिता सञ्चालन भएको हो । 

रेवाहाङको २०७७ माघ २० गते १६ वर्षको उमेरमा निधन भएको थियो । उनको सम्झनामा उनको परिवारले दुई लाख रुपैयाँको अक्षय कोषको स्थापना गरी गत साल देखि धरान मेघा रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता सुरु गरिएको थियो ।

प्रतियोगिताका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरी मोस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले नगद २ हजार ५ सय, हाइ स्कोररले नगद २ हजार, थी्र पोइन्ट च्याम्पियनले नगद २ हजार र राइजिङ प्लेयरले नगद १ हजार रुपैयाँ र एमर्जिङ टिमले ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताको सम्पूर्ण व्यवस्थापन धरान बास्केटबल सङ्घ र प्राविधिक सहयोग सुनसरी बास्केटबल सङ्घको रहेको छ । प्रतियोगिताको सम्पूर्ण खेल धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भइरहेको छ ।