सर्लाही : सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबिच झडप भएपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ ।

बिहीबार साँझ गणेशको मूर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदायबिच झडप भएपछि स्थानीय प्रशासनले बिहीबार राति १० बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका डिएसपी दीपेन्द्र पन्जियार थारुका अनुसार मूर्ति सेलाउन जाने क्रममा साँझ साढे ७ बजे मुस्लिम बस्ती पुगेपछि बिजुलीको लाइन कट्यो । त्यही बेला अज्ञात समूहबाट ढुंगामुढा प्रहार भएपछि झडप भएको थियो ।

त्यसैक्रममा एक युवकमाथि छुरा प्रहार भयो । छुरा प्रहार भएका ती युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यसले थप अप्रिय घटना निम्तन सक्ने भएकाले अर्को आदेश नहुन्जेलसम्मका लागि कर्फ्यु आदेश जारी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भङ्ग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/बाबा पेट्रोल सम्म) कर्फ्यु आदेश जारी गरिएको छ ।

कर्फ्यु लगाइएको सीमा क्षेत्रभित्र कसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यसअघि कृष्णाष्टमीको मूर्ति सेलाउने क्रममा पनि सोही बस्तीमा दुवै समुदायबिच झडप भएको थियो । त्यसपछि स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।