विराटनगर : कोशी प्रदेश प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित १४० औ प्रहरी जवान समूहको आधारभूत तालिममा सहभागी २९५ जना प्रहरी जवानहरू दीक्षित भएका छन् ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाको प्रमुख आतिथ्ययतामा तालिम केन्द्रमा आज आइतबार आयोजित दीक्षान्त समारोहमा सहभागी प्रशिक्षार्थीहरूलाई नेपालको संविधान बमोजिम तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले शब्दमा शपथ ग्रहण गराएका छन् ।

समारोहमा प्रहरी नायव महानिरीक्षक बास्तोलाले प्रहरी पेसा अत्यन्त चुनौती एवं जोखिमले भरिएको भएपनि मर्यादित प्रहरी पेसामा प्रवेश गर्न आफ्ना सन्ततिलाई हौसला प्रदान गर्ने परिवारजन, आफन्तहरूमा आभार प्रकट गरेका छन् ।

उनले तालिमबाट दीक्षित भई सेवामा प्रवेश गर्न लागेका प्रहरी जवानहरूलाई निर्देशन दिँदै भने ‘कार्यक्षेत्रमा मन बचन र कर्मले निष्ठापूर्वक, ईमान्दार र बफादारी भई उच्च मनोबलका साथ नागरिकको सेवामा दत्तचित्त भई लागि पर्नु होला ।’

तालिम केन्द्रका सहसमादेशक प्रहरी नायव उपरीक्षक रबिन विष्टले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । तालिममा प्रशिक्षार्थीहरूलाई नेपाल र नेपाल प्रहरी सङ्गठनको परिचय सुरक्षा, प्रहरी कार्य तथा अपराध नियन्त्रण, अपराध अनुसन्धान र विद्यामान कानुन र प्रहरी युक्ति तथा कारबाहीका विषयमा प्रशिक्षण दिइएको प्रनाउ विष्टले जानकारी गराए ।

२०७९ कार्तिक २० गते देखि सञ्चालित २३४ कार्य दिनको प्रहरी जवान १४० औ समूहको आधारभूत तालिम आज दीक्षान्त समारोहसँगै सकिएको हो । समूहको आधारभूत तालिममा सहभागी ५३ जना महिला सहित २९५ जना प्रहरी जवानहरू दीक्षित भएका हुन् ।

प्रशिक्षार्थीहरूलाई तालिम अवधि भर लिइएको चरणगत परीक्षाको प्राप्तसङका आधारमा विभिन्न विद्यामा उत्कृष्ट लगायतका प्रशिक्षकहरूलाई प्रहरी नायव महानिरीक्षक बास्तोलाले प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे ।

तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राजन अधिकारीले धन्यवाद ज्ञापन गर्दै समाज गतिशील रहेको र हाम्रा प्रयास पनि गतिशील नै हुनुपर्ने बताए ।

dikchyanta samaroha 2

dikchyanta samaroha 3