इटहरी : नेकपा एमालेको कोशी प्रदेशको असोज १२ र १३ गते विराटनगरमा हुने प्रथम अधिवेशनबाट नयाँ कमिटी चयन हुने भएको छ। ११ सय प्रतिनिधिबाट सर्वसम्मत वा निर्वाचन प्रक्रिया मार्फत नेतृत्व चयन गर्ने गरी तयारी पुरा भएको छ ।

नेतृत्वको लागि केन्द्रीय सदस्य समेत रहेका विनोद प्रसाद ढकाल, घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसी प्रसाद न्यौपाने र उपाध्यक्ष टिका चेम्जोङले दाबी गरिरहेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले हालसम्म कसैप्रति सङ्केत नगरेको कारण को अध्यक्ष बन्ला भन्ने आङ्कलन नगरिएको नेताहरू बताउँछन् । सर्वसम्मत अध्यक्ष बन्नको लागि अध्यक्ष ओलीले नाम लिनुपर्ने नेताहरूको बुझाइ छ ।

दाबेदारहरू मध्ये विनोद ढकालको प्रभाव बलियो देखिएको छ । ढकाल मोरङका पूर्व जिल्ला अध्यक्ष समेत रहेकाले उनको गृह जिल्ला लगायत छिमेकी जिल्ला झापा, सुनसरी र पहाडका जिल्लाहरूमा समेत राम्रो प्रभाव छ।

यसअघि दिवङ्गत भएका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ निकट मानिएका उनी अहिले चुनावी मैदानमा छन् । चुनावी प्रतिस्पर्धा गरेरै भए पनि नेतृत्व लिने तयारीमा छन् ढकाल ।

मोरङमा माधवकुमार नेपालका समर्थकहरू हाबी हुँदा समेत ओली टिम धानेका उनी अहिले उच्च पदस्थ नेतृत्वको साथको पर्खाइमा छन् । केन्द्रीय नेतृत्वले पनि ढकाललाई समर्थन गर्ने वा नगर्ने बारे ओलीकै सङ्केत पर्खिरहेका छन् । ढकाल सँग नखुलेका ओलीले सहमति नआए ढकाल विरुद्ध उम्मेदवार तय गर्ने आङ्कलन गरिएको छ ।

मोरङकै अर्का दाबेदार घनश्याम खतिवडा भने ओलीले नाम लिए अध्यक्ष बन्न सकिने तयारीमा छन् । चुनावै भए पनि ओलीको इसाराको पर्खाइमा छन् उनी । ढकाल सँग भए पनि ओलीको सङ्केत पाए चुनावी मैदानमा जाने उनको योजना छ ।

नेकपा विभाजन हुँदा १० बुँदेको पक्षमा रहेका उनी पछि एमालेमा फर्किएका हुन् । उनले युवाहरू माझ आफ्नो प्रभाव बढाइरहेका छन् । मुख्यतः युवासंघ मार्फत आफ्नो पक्षमा चुनावी नतिजा पार्ने गरी रणनीति बनाइरहेका छन् । सर्वसम्मत नभए युवाहरूकै दबाबमा चुनावमा जाने उनले सङ्केत गरेका छन् ।

अर्का दाबेदार तथा हालका अध्यक्ष न्यौपाने सर्वसम्मत भए अध्यक्ष हुने लाइनमा छन् । प्रतिस्पर्धाबाट भन्दा पनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने उनको अडान छ । दाबेदार मध्येका टिका चेम्जोङले उपाध्यक्षमै दोहोर्‍याउने गरी रणनीति बनाएका छन् ।

तराईका जिल्लाहरूमा बलियो पकड नभएका उनी पहाडको मात्र मतले जित्न नसकिने लाइनमा छन् । धनकुटाका पुराना नेता चेम्जोङ पुनः उपाध्यक्ष दोहोर्‍याउने दाउमा छन् ।