इटहरी : इटहरी उपमहानगरपालिकाले आजबाटै श्रम स्वीकृति दिने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारीमा जान चाहनेहरूको श्रम स्वीकृति इटहरी उपमहानगरपालिकाबाट सुरु भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार इटहरीले पहिलो पटक मेयर हेम कर्ण पौडेलले हाल इटहरी बसोबास गरिरहेका रामचन्द्र राईलाई श्रम स्वीकृति प्रदान गर्दै सेवाको सुरुवात गरेको हो ।

वैदेशिक रोजगारमा जाने युवायुवतीले यस अघि काठमाडौँ गएर यस्तो स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको मेयर पौडेलको भनाइ छ । ”स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झन्झट हुन्थ्यो, लागत पनि बढी पर्थ्यो तर अब स्थानीय सरकारबाटै सेवा सुरु भएपछि सहज हुन्छ”, मेयर पौडेलले बताए ।

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सो सम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने इटहरी उपमहानगरले बताए ।

"पहिला पहिला श्रम स्वीकृतिका लागि काठमाडौँ जानुपर्थ्यो, एजेन्ट लगाउनुपर्थ्यो, पैसा पनि बढी तिर्नुपर्ने गुनासो आउने गरेको थियो, अब स्थानीय तहबाटै सेवा लिन पाउँदा खुसी भए राईले भने । मैले पहिलो सुविधा पाए सारै खुसी लाग्यो", राईले भने ।