वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं १ मा रहेको पौराणिक महत्त्व बोकेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको गुरु योजना तयार गरेको छ । नगरपालिकाले पौराणिक महत्त्व बोकेकोऔलिया बाबा मठ, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सुर्यकुण्ड तथा धार्मिक महत्त्व बोकेको वराहक्षेत्र मन्दिरको गुरु योजना तयार बनाएको हो ।
तयार भएको गुरु योजनाको सम्पादनबारे बुधवार सरोकारवाला पक्षसँग छलफल समेत भएको छ । नगर प्रमुख रमेश कार्कीको उपस्थितिमा भएको छफलफमा नगर उप-प्रमुख नन्दकुमारी सुनुवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र बहादुर मल्ल, वडा नं १ का अध्यक्ष किसन मगर, लेखा अधिकृत वीरेन्द्र यादव, इन्जिनियर राजु भट्टराई, वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ तथा पदाधिकारी, औलिया मठ तथा छिनामस्त संरक्षण समितिका अध्यक्ष प्रकाश राउत तथा पदाधिकारी हरूको उपस्थिति रहेको थियो ।
पौराणिक महत्त्व बोकेको औलिया बाबा मठ, ऐतिहासिक तथा पर्यटकीय क्षेत्र सुर्यकुण्ड तथा धार्मिक महत्त्व बोकेको वराहक्षेत्र मन्दिरको भौतिक विकास, ऐतिहासिक पक्षको संरक्षण, जिर्णद्धर, प्रवर्द्धन गर्ने उद्देश्यले गुरु योजना तयार बनाएको नगर प्रमुख रमेश कार्कीले बताए ।
गुरु योजना तयार भनेको औलिया मठको पूर्वाधार विकासको लागि सङ्घीय सरकारबाट १ करोड रकम समेत विनियोजन भएको छ । बहु बर्से योजनामा रहेको औलिया मठको पूर्वाधार विकास र पौराणिक महत्त्वको संरक्षणमा नगरपालिका लागेको नगर प्रमुख कार्कीको भनाई छ । त्यस्तै वराहक्षेत्र मन्दिरको पूर्वाधार विकास १ करोड बजेट सङ्घीय सरकारबाट विनियोजन भएको छ । मन्दिरमा बस पार्क, कोशी कट्टान र भौतिक संरचना निर्माणकालागि उक्त बजेटबाट काम हुनेछ ।




































































