इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २० गते शनिवार विश्वासको मत लिने भएका छन् । २० गते १ बजे बस्ने प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत लिने भएका हुन् ।
मुख्यमन्त्री कार्कीको सचिवालयले दिएको जानकारी अनुसार २० गतेसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानलाई अनुरूप गर्न लगिएको हो । धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्ति भएको २० गते ३० दिन पूरा हुँदै छ ।
नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले सभाध्यक्षको मत लाई दुरुपयोग गरेपछि सर्वोच्च अदालतले बरखास्त गरेको थियो । उपधारा २ अनुसार दुई पटक मुख्यमन्त्री भएका थापाले दुवै पटक सभामुख/सभाध्यक्षको मतको दुरुपयोग गरेका थिए ।
अन्तिम पटक अदालतले थापालाई पदमुक्त गरी कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।
प्रदेशसभाको सबैभन्दा ठुलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत पाउने अन्तिम कसरतमा छन् ।
प्रदेशसभामा एमालेको उपसभामुख बाहेक ३९ मत मात्र छ । हालसम्म राप्रपाका ६ सांसदको समर्थन पाएको कार्कीले विश्वासको मत पाउन थप १ सांसद आवश्यक पर्छ । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ४७ सांसदको समर्थन चाहिन्छ ।