विराटनगर : विराटनगर महानगरमा वडा, टोल, सडक, गल्लीको ठेगाना खुल्ने गरी वैज्ञानिक घर नम्बर प्रणाली लागु गरिने भएको छ ।

घर नम्बरको नयाँ प्रणालीको प्रारम्भ आइतबार महानगरपालिका कार्यवाहक मेयर शिल्पा निराला कार्कीले गरेकी छन् । यो प्रणालीका हाल पहिलो चरणमा ६७ घरमा नम्बरिङ गरी प्रारम्भ गरिएको हो ।

कार्यवाहक मेयर कार्कीले महानगरको विराटनगर-७ का देवकीनन्दन अग्रवालको घरमा पहिलो नम्बर टाँस गरेर यसको शुभारम्भ गरेकी हुन । यो सँगै रोडशेष चौकलाई मिलन बिन्दु मानेर मेन रोडका घरहरूमा दूरीका आधारमा घर नम्बर टाँस गरिनेछ ।

उक्त अवसरमा कार्यवाहक मेयर कार्कीले भनिन् ‘यसले भविष्यमा विराटनगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्न सहयोग पुग्ने छ ।’ पहिलो चरणमा मुख्य बजार क्षेत्रमा नम्बरिङ गरिने र निकट भविष्यमा अन्य स्थानमा पनि नम्बरिङ गराउने कार्यवाहक मेयर कार्कीले बताइन् ।

नयाँ घर नम्बरीङ विराटनगर महानगरपालिकामा एडिबीको सहयोगमा सञ्चालित आरयुडीपी जीआइएस हाउस नम्बरिङ सिस्टम परियोजनाले सुरु गरिएका हो ।

महानगरपालिकाले सहरीकरणसँगै बढ्दो घर सङ्ख्यालाई मेट्रिक ठेगाना प्रणाली कार्यान्वयन गर्न नयाँ प्रणाली अपनाएको हो । यो प्रणालीले नगरवासीको घर पहिचान सहज बनाउने बताइएको छ ।

परियोजनाद्वारा छुटेको काम अहिले कार्यान्वयन गर्न लागेको महानगरपालिका इन्जिनियर अर्जुन थापाले बताए । उनका अनुसार यसलाई क्रमशः सबै वडामा विस्तार गर्ने लक्ष्य राखिएको छ ।

यो प्रणालीमा मुख्य रूपमा सडकको दूरीलाई आधार बनाउने गरिन्छ । सडक, गल्लीको नाम र दुरीको आधारमा घर नम्बर प्रदान गरिने भएकाले घरको ठेगाना पहिचान गर्न सहज हुने बताइएको छ ।

इन्जिनियर थापाले भने ‘यो प्रणालीमा घरसँग जोडिएको सडकको सुरुको बिन्दु देखि घरको मूल ढोका सम्मको दुरी घरको नम्बर प्लेटमा राखिनेछ ।’

बाटोको सुरुको बिन्दुबाट मिटरको आधारमा दाँयापट्टी जोर नम्बर बायाँ पट्टी बिजोर नम्बर दिइनेछ । यसबाट महानगरपालिकालाई कर व्यवस्थापनमा सहजता हुनेछ ।

नयाँ प्रणालीले कर तथा राजस्व, नागरिकको स्तर वर्गीकरण, विपद् आइपर्दा द्रुत सेवा सञ्चालन, गरिबी पहिचान, पूर्वाधार पहुँच लगायत विषयको सूचना प्राप्त गर्न समेत महानगरपालिकालाई सहयोग पुग्ने बताइएको छ । ।