वराहक्षेत्र : इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टिको टोलीले वराहक्षेत्र नगरपालिका वडा नं,१ चतरा बसपार्कमा रहेको एक घरबाट अवैध हरिणको सिङ र लागूऔषध सहित चार जनालाई पक्राउ गरेको छ ।
आइतबार साँझ करिब ७:४० बजेको समयमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको कमान्डमा खटिएको प्रहरी टोलीले चतरा बसपार्क स्थित सञ्जय लिम्बुको घरमा खानतलासी गर्दा घरको कोठामा लुकाई छिपाई राखेको अवस्थामा ठुलो र सानो आकारको हरिणको सिङ ५ थान र ठुलो मात्रामा नियन्त्रित लागूऔषध फेला पारेको थियो ।
हरिणको सिङ र लागूऔषध घरमा लुकाई छिपाई राखिएको सुराकीको आधारमा खटिएको प्रहरीले ठुलो परिमाणमा लागूऔषध, काठको डमी बन्दुक १ थान, दाँत भएको फलामको फार्सा १ थान, मोबाइल ४ थान सहित सोही घरमा लुकी बसेका वडा नं.१ का २२ वर्षका विकास राई, २८ वर्षका विवश शेर्पा, २९ वर्षका सुमन तामाङ सहित घरधनी ३४ वर्षका सञ्जय लिम्बु सहित ४ जना युवाहरूलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।
बरामद गरिएको हरिणको सिङ बराह सवडिभिजन वन कार्यालय चतरामा कारबाही लागि जिम्मा लगाइएको र नियन्त्रित लागूऔषध औषधी व्यवस्था विभाग विराटनगरमा थप अनुसन्धानको लागि पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक राम प्रसाद तिमल्सिनाले बताए ।
त्यसैगरी सोमवार साँझ करिब ७ बजे वडा नं.२ सखुवा गाछीबाट लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको थियो । इलाका प्रहरी कार्यालय
महेन्द्रनगरका प्रमुख तिम्सिनाको कमान्डमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट ट्याब्लेट १९० वटा, क्याप्सुल २ सय वटा र एक थान मोबाइल सहित २४ वर्षका विज्ञान राईलाई पक्राउ गरेको छ ।
नियन्त्रणमा लिएको लागूऔषध थप अनुसन्धानको लागि औषधी व्यवस्था विभाग विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।