विराटनगर : विराटनगर महानगरपालिकाले सेवामूलक महानगरका वडाहरूमा क्रियाशील सङ्घ, संस्थाहरूलाई विद्युतीय चुल्हो वितरण गरेको छ । महानगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा कार्यवाहक मेयर शिल्पा निराला कार्कीले १३९ वटा चुल्हो वितरण गरेकी हुन ।
महानगरपालिकामा १५७ वटा माग भएकोमा उक्त संख्यामा विद्युत् चुल्हो वितरण गरिएको वडा ३ का अध्यक्ष, वन, वातावरण, विपद् व्यवस्थापन समिति संयोजक वासुबहादुर बस्नेतले बताए । उनका अनुसार एउटा संस्थालाई बढीमा १० वटासम्म चुल्हो वितरण गरिएको हो ।
चुल्हो प्राप्त गर्ने सङ्घ, संस्थाहरूमा ज्येष्ठ नागरिक सेवा केन्द्र, मानव सेवा आश्रम, आधारभूत विद्यालय, बालआश्रम, वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी कार्यालय, ज्येष्ठ नागरिक क्लब लगायत छन् ।
कार्यवाहक मेयर कार्कीले ग्यासको खपत कम गर्ने उद्देश्यले विद्युतीय चुल्हो वितरण गरिएको बताउँदै विगतमा चुल्हो वितरणलाई लिएर विभिन्न टीकाटिप्पणी हुँदै आएकोमा यस पटक पारदर्शी रूपमा चुल्हो वितरण गरिएको बताइन् । उनले भनिन् ‘विद्युतीय चुल्हो प्रयोग गरेको नगरेको बारेमा महानगरपालिकाले अनुगमन गर्नेछ ।’
वडा १ का अध्यक्ष काजीबहादुर बस्नेत, वडा २ का कुमार पोखरेल, वडा ३ का वासुबहादुर बस्नेत, वडा ५ का सन्तोष न्यौपाने, वडा ८ का राम पोखरेल, वडा १० का अर्जुन गिरी, वडा ११ का तीर्थेन्द्र न्यौपाने, वडा १६ का उद्धव भुजेल, वडा १७ समिम कमर, निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल लगायतले चुल्हो हस्तान्तरण गरेका हुन ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































