धरान : धरान-११ मङ्गलबारेमा रहेको सुन पसल नुना स्टोर बन्द गरेर भागेका सञ्चालक वसन्त राईले  पसलमा कारोबार गरेका ६० जनालाई २५ करोड रुपैयाँ भन्दा बढी रकम तिर्नुपर्ने देखिएको छ ।

यसअघि गत बुधवार ‘कपुरी’मा १८ जनाको ३ करोड रुपैयाँ लिएर (नुना हुनुपर्ने नुमा स्टोर भएको) सञ्चालक सम्पर्क विहीन भएको समाचार प्रकाशित भएपछि त्यहाँ आर्थिक कारोबार गर्नेहरू थप भएको खुलेको हो ।

सञ्चालक वसन्त राई ४ सदस्यीय परिवार सहित भागेपछि १८ जना पीडितहरू पहिलो निवेदन लिएर इलाका प्रहरी कार्यालय पुगेका थिए । थप ३६ जना पीडितहरूले दोस्रो निवेदन प्रहरीमा दिएका छन् । तेस्रो निवेदन ८ जनाले दिएका छन् ।

अहिले सम्म आफ्नो रकम, सुन लिएर सम्पर्क विहीन भएको भनी निवेदन दिएकाहरू ६० जना पुगेको छ । उनीहरू समेतको रकम जोड्दा २५ करोड रुपैयाँ भन्दा बढी सुन सहित रकम लिएर सञ्चालक वसन्त राई परिवार सहित भागेको देखिन्छ ।

पीडितहरू शुक्रवार दिउँसो बन्द रहेको नुना स्टोरमा भेला भई पत्रकार सम्मेलन गरेका छन् । पत्रकार सम्मेलनमा नुना स्टोरका सञ्चालक राई कात्तिक २ गते देखि स्टोर बन्द गरेर सम्पर्क विहीन भएको पीडित चन्द्रकुमारी तामाङले बताइन् । उनको मात्र ९४ लाख रुपैयाँ नगद वसन्त राईले चलाएका छन् ।

सञ्चालक राई सहित श्रीमती उर्मिला राई, २ छोरा जेठा जोशन राई कान्छा निशान राई समेत कुनै जानकारी नदिई हिँडेकाले फरार भएको चन्द्रकुमारीको भनाई छ । छिमेकी समेत रहेका सञ्चालक राई कसैलाई थाहा नदिई सपरिवार हिँडेको जस्तो लागेपछि उनले राई र उनको छोराको मोबाइल नम्बरमा फोन पनि गरिन् ।

उनले भनिन् ‘तर दुवै फोनबाट सम्पर्क हुन सकेन भन्ने जानकारी मात्र आयो ।’ चन्दकुमारीका अनुसार सञ्चालक वसन्त राईको मोबाइल नम्बर ९८५२०५६३०४ र छोरा जोसन राईको नम्बर ९८६३५१४७०० हो । दुवै नम्बरमा रिङ जाँदैन ।

उनका अनुसार ९३ लाख रुपैयाँको हाल सम्मको ब्याज समेत ९४ लाख ४५ हजार रहेको हिसाब गरेर कात्तिक २ गते रकम लिनु बोलाएका थिए । रकम लिनु जाँदा स्टोर बन्द गरेर भागेको थाहा पाएकी हुन । चन्द्रकुमारीले जग्गा बेचेर स्टोरमा रकम जम्मा गरेको बताइन् ।

फरार वसन्तसँग १९ वर्ष अघि देखि कारोबार गर्दै आएका बलराम तामाङको ५९ लाख ९१ हजार ३ सय ७० रुपैयाँ स्टोरमा छ । उनले स्टोर सञ्चालक राई सँग सहकारी समेतको कारोबार बाकी रहेको छ ।

स्टोरमा बुद्धिमान तामाङको ८२ लाख रुपैयाँ छ । दिर्घरोगि ७२ वर्षीया लक्ष्मी तामाङले व्याजबाट औषधि उपचार गर्न १० लाख रुपैयाँ राखेकी थिइन् । वीर बहादुर तामाङले बिपी प्रतिष्ठानबाट जागिर छोड्दा पाएको उपदान ७ लाख राखेका थिए ।

स्टोरमा सुनचाँदी बाहेक रेमिटेन्सको समेत कारोबार गरिन्थ्यो । हालसम्म फुर्वा शेर्पा राई, स्मृति राई, शान्ता राई, राम बिक, चन्दा राई, दीपेन्द्रकुमार लिम्बू, केदार राई, सङ्गीता राई लिम्बू समेतले सुनको कारोबार गर्दै आएका थिए । बन्धक राखिएको सुन निकाल्न बुझाएका साँवा र ब्याज रकम सुन समेत लिई सञ्चालक वसन्त फरार भएका हुन ।

 भिडियो :