धरान : धरान-११ को सुनचाँदी पसल नुना स्टोरका सञ्चालक वसन्त राई सर्वसाधारणको करिब ३ करोड रुपैयाँ लिएर सम्पर्क विहीन भएको पीडितहरूले बताएका छन् ।

सुनचाँदीको कारोबार सहित पसलमा राईले मनी ट्रान्सफरको व्यवसाय पनि गर्दै आएका थिए ।सञ्चालक राईले सर्वसाधारणसँग बढी व्याज दिने गरी लगानी उठाउने गरेका थिए । पीडित स्थानीय चन्द्रकुमारी तामाङले भनिन् ‘सयकडा १८ रुपैयाँ ब्याज दिने भनेपछि नुना स्टोरमा ९४ लाख रुपैयाँ राखेकी थिएँ ।’

उनको छिमेकी पनि भएकोले धेरै वर्ष देखी कारोबार गर्दै आएको बताउँदै उनले भनिन् ‘तर एक्कासि उहाँ फरार हुनुभयो ।’ ब्याज बापत केही रकम दिएका सञ्चालक राई साँवा रकम फिर्ता नदिई पसल छाडेर भागेको उनको भनाई छ ।

चन्द्रकुमारीका अनुसार उनलाई कार्तिक २ गते पैसा लिन बोलाएर पैसा नदिई त्यही दिन देखी सञ्चालक राई परिवार सहित सञ्चालक सम्पर्क विहीन भएका छन् ।

धरान-११ का बुद्धिमान तामाङले पनि सोही मनी ट्रान्सफर पसलमा ८२ लाख रुपैयाँ राखेका थिए । रकम फिर्ता पाएका छैनन् । सञ्चालक राई बढी ब्याज दिने भन्दै दुर्गा देवी तामाङसँग ३१ लाख रुपैयाँ र नउमती राईबाट २५ लाख रुपैयाँ लिएका छन् ।

तामाङले सञ्चालक राईले ‘विश्वास जितेर घात गरेर भागेको’ हुनसक्ने बताए । राईले मनी ट्रान्सफरबाट मात्र नभई सुनचाँदीको व्यवसायबाट पनि ठगी गरेको पीडित मणिराज राईले बताए । उनले भने ‘मैले चार तोला सुन धितो राखेर ऋण लिएको थिएँ ।’

सुन उकास्न १ लाख ७७ हजार १० रुपैयाँ तिरेको बताउँदै भने ‘वसन्तले (सञ्चालक राईले) कात्तिक २ गते सुन लिन बोलाएका थिए, त्यही दिन उनी सुन र पैसा लिएर फरार भए ।’

यस्तै धनकुमार राई, प्रेणा गुरुङ, प्रेमलाल चौधरी लगायत ८ जना भन्दा बढीसँग धितोमा राखेको सुन र उकास्न तिरेको पैसा दुवै लिएर वसन्त सम्पर्क विहीन भएका हुन ।

बम प्रकाश राईले साँढे ३ तोला सुन धितो राखेको र उकास्न १ लाख ५ हजार तिरेका थिए । तर उनले सुन फिर्ता पाएनन् नै तिरेको पैसा पनि लिएर सञ्चालक राई फरार भएका छन् ।

पीडितहरू ठगीमा परेको उजुरी दिन इलाका प्रहरी कार्यालयमा गएका थिए । प्रहरीले लेनदेनको विषयमा आवश्यक प्रमाण नभएका कारण जाहेरी दर्ता नगरेको पीडित धनकुमार राईले बताए ।

उनले भने, ‘डिएसपी सर अहिले बिदामा हुनुहुँदो रहेछ, उहाँ आएपछि छलफल गर्ने कुरा भएको छ ।’ लिखित निवेदन प्रमाण नहुँदा दर्ता नभए पनि प्रहरीले लिएको धनकुमारले बताए ।

१८ जनाभन्दा धेरै व्यक्ति नुमा स्टोरका सञ्चालक वसन्तबाट ठगिएको पीडितहरूको भनाई छ । इलाका प्रहरी कार्यालय धरानमा ठगी आरोपमा उजुरी दिन गएका पीडितहरूको सुची १८ जनाको नाम छ ।

प्रहरीका अनुसार सञ्चालक राईले १८ जनाबाट मात्र ३ करोड बराबर रकम लिएको देखिन्छ । तीमध्ये पनि अन्य धेरै उपभोक्ताबाट रकम लिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

पछिल्लो समय धरानमा बचत तथा ऋण सहकारी संस्थाहरू करोडौँ रकम ठगी गरी फरार हुने क्रम बढ्दो छ । धरानका सहकारीले अहिलेसम्म करिब १५ अर्ब रुपैयाँ ठगी गरेर फरार भएको सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

उनले भने ‘सुनचाँदी पसल सञ्चालकले ठगी गरेको यो घटना मैले थाहा पाएको थिइन् ।’ सञ्चालक फरार भएको हो भने तुरुन्तै उसको पासपोर्ट रोक्का गराउनु पर्ने अध्यक्ष श्रेष्ठले बताए । यसबारे थप बुझेर आवश्यक सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।

sun-pasal-KapuriNews-DharanSunpasal-KapuriNews-Dharan-