धरान : नवजात शिशुलाई उपचारका लागि एक अस्पतालबाट अर्को अस्पतालमा रेफरल गर्दा चिकित्सक सहित लैजानु पर्ने ‘रेफरल अफ न्यु ब्रोन विथ मेडिकल एसिस्टन्ट प्रोग्राम’ उदयपुर जिल्ला अस्पतालमा सुरु गरिएको छ ।
यो सेवा नेपालमै पहिलो पटक उदयपुरमा सुरु गरिएको हो। स्वास्थ्य अवस्था गम्भीर भएका नवजात शिशुलाई जिल्ला अस्पतालबाट उपचारका लागि बाहिरको अस्पताल लैजान परेमा अस्पतालले शिशु सँगै चिकित्सक पनि सँगै पठाउने “चिकित्सा सहायता सहित रेफरल“ उदयपुर जिल्ला अस्पतालमा सुरु गरिएको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिण्टेडेण्ट मेसु डा. ज्ञानेन्द्र झाका अनुसार बच्चा जन्मेको २४ घण्टा बाहिरी मौसममा घुलमिल हुन् समय लाग्छ । त्यो समयमा नवजात शिशुलाई संक्रमणको जोखिम उच्च रहने हुँदा बच्चा सँगै चिकित्सक रहनु पर्ने देखिएकाले यो योजनाको सुरुवात गरिएको हो ।
अस्पतालकी डा. निर्मला चौधरीका अनुसार नवजात शिशुको उपचारको लागि जिल्ला अस्पतालले एसएनसियुको व्यवस्था गरी उपचार गराइरहे पनि अस्पतालमा भेन्टिलेटर नहुँदा कुनै नवजात शिशुलाई बाहिर अस्पताल रिफर गर्नु पर्ने अवस्थामा आउँछ ।
उनले भनिन् ‘त्यस्तो अवस्थामा बिरामी शिशु सँगै चिकित्सक पनि सँगै पठाएर बाटोमा हुनसक्ने दुर्घटनालाई न्यूनीकरण गर्न यो योजनाको सुरु गरिएको हो ।’
नवजात शिशुलाई बाहिर अन्य ठुलो अस्पताल लैजाँदा चिकित्सक सहित पठाउने व्यवस्थाको आर्थिक एवं मानवीय व्यवस्थापन त्रियुगा नगरपालिकाले गर्ने भएको छ ।
नगर प्रमुख वसन्त बस्नेतले भने ‘तथ्याङ्क हेर्दा नवजात शिशुको एक अस्पतालबाट अर्को अस्पताल लैजाँदै हुने मृत्यु सङ्ख्या बढेको देखियो, यसै कारण यो योजना लागु गरिएको हो ।’
        
                    
        
                                        
                                                                                                
        
                
                
        
        
















        
        
















































