धरान : घरायसी विषयमा विवाद हुँदा आफ्नै भिनाजुलाई खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा सालोलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला बुद्धशान्ती गाउँपालिका-५ का भिनाजु ४५ वर्षीय धन बहादुर कटवालको हत्यामा संलग्न रहेका उनकै सालो ३५ वर्षीय रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्तिक २२ गते राती ११ बजे सालो-भिनाजुको बिचमा घरायसी विषयमा वादविवाद हुँदा अधिकारीले कटवाललाई खुकुरी र बाँसले टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेका थिए ।

गम्भीर घाइते अवस्थामा कटवाललाई उपचारको लागी प्रादेशिक अस्पताल भद्रपुर लगिएकोमा उपचारको क्रममा हिजो बिहीबार दिउँसो मृत्यु भएको हो । 

घटनाबारे जनाकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय बुधबारे झापाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोलीले खुकुरी प्रहार गर्ने रोशन अधिकारीलाई तत्काल पक्राउ गरेको हो ।

घटना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।