आज : यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।

विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ ।

औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरी घरलाई फूल तथा बत्तीहरूले सिँगारिन्छ ।

साथै घरको मूल ढोकाबाट पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दीपावली गर्दै दियो, कलश, गणेशको पूजा गरी गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर लक्ष्मी देवीको पूजा गरिन्छ ।

लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ।

लक्ष्मी पूजाको दिन छोरी-चेलीहरूले समूह बनाएर भैली खेल्ने परम्परा छ । यस दिन भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ ।