काठमाडौँ : सौन्दर्य प्रतियोगिता मार्फत मौलिक परम्परा, संस्कार, कला संस्कृति, इतिहासलाई संवर्धन र प्रवर्द्धनमा योगदान दिने उद्देश्य सहित आयोजना हुँदै आएको अन्तर्राष्ट्रिय प्रतियोगिता हेरिटेज प्याजेन्टस् आइतबारबाट सुरु भएको छ । 
थाईल्याण्डको राजधानी बैंककमा नेपाल लगायत विश्वका दुई दर्जन बढी मुलुकका करिब पचास सहभागीको सहभागितासँगै सुरु भएको प्रतियोगितामा सहभागीहरूलाई उनीहरूको देशको पहिचान दिने अफिसियल स्यास वितरणसँगै प्रतियोगिता सुरु भएको हो । 
अफिसियल स्यासको वितरण प्रतियोगिताका आयोजक संस्था ईप्लानेट सिंगापुर पिटिई लिमिटेडका सिंगापुरका अध्यक्ष सन्तोष सापकोटा र इन्टरनेसनल निर्देशक सुसान कोहले गरेका थिए । प्रतियोगिता अन्तर्गत इभिनिङ गाउन, नेशनल कस्ट्युम पहिरनको फोटो सुट समेत भैसकेको छ । 
यसैगरी सहभागीहरू बिच मित्रता, एक अर्काको संस्कृति, परम्परालाई बुझ्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कल्चरल उपहार आदान प्रदान गर्ने कार्यक्रम पनि भएको छ । प्रतियोगिता अन्तर्गत वातावरणीय महत्वलाई उजागर गर्ने कार्यशाला पनि सञ्चालन गरिएको छ । जसअन्तर्गत अर्ग्यानिक मलको उपयोगिता र उत्पादन बारे कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यशाला मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ फोन्टिप सृवान्र्युले गरेकी थिइन् । यस बाहेक कल्चरल टेबल डिस्प्ले, प्रेस प्रेजेन्टेसन, थाइल्यान्डको ऐतिहासिक सहर आयुथयाको भ्रमण लगायतको गतिविधि सञ्चालन भइसकेको छ । 
ईप्लानेट सिंगापुर पिटिई लिमिटेडको आयोजनामा आगामी नोभेम्बर २५ तारिखका दिन थाईल्याण्डको बैंकक सहरस्थित ईएससि पार्क होटेलमा प्रतियोगिताको फाइनल प्रतिस्पर्धा सञ्चालन हुँदैछ ।
प्रतियोगितामा नेपाल लगायत विश्वका २२ मुलुकका करिब चार दर्जन प्रतियोगीहरू विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रतियोगितामा नेपालबाट ‘मिस एण्ड मिसेस् हेरिटेज इन्टरनेसनल नेपाल २०२३’ विजेता आजमा महर्जन र लिली महर्जन सहभागी छन् । 
प्रतियोगिताको कोरियोग्राफी र स्टेज प्रस्तुतीकरण जिम्मेवारी नेपाल फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली शले सम्हालेका छन् ।