धरान : दुवै मिर्गौला खराब भई डाइलसिस गराई रहेका इटहरीका अग्रज पत्रकार पिवि दियालीलाई नेपाल प्रेस युनियन सुनसरीले २१ हजार रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।

विराटनगर स्थित न्युरो अस्पतालमा प्रेस युनियनको टोलीले मङ्गलवार पत्रकार दियालीलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित युनियन सुनसरी जिल्ला समितिको तर्फबाट २१ हजार रुपैयाँ नगद हस्तान्तरण गरेको हो ।

साथै युनियन मार्फत इटहरीका व्यवसायी अनुरोध थापाले २ हजार १००, नेपाली काँग्रेस इटहरीका सचिव विक्रम घिमिरेले १ हजार रुपैयाँ प्रदान गरेको सहयोग रकम पनि हस्तान्तरण गरेको छ ।

रकम हस्तान्तरकै समय दियालीका शुभेच्छुक खोटाङ घर भई हाल विराटनगर निवासी गजुरधन परियारले १० हजार ५ रुपैयाँ नगद सहयोग प्रदान गरेका छन् ।

सहयोग रकम प्रेस युनियन कोशी प्रदेश अध्यक्ष मीनकुमार नवोदित श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य हर्ष सुब्बा, पत्रकार महासङ्घ केन्द्रीय सदस्य अमर खड्का, युनियन सुनसरी जिल्ला अध्यक्ष ध्रुव ढकाल सहितको टोलीले दियालीलाई हस्तान्तरण गरेका हुन ।

उक्त भेटमा पत्रकार दियालीलाई पत्रकार महासङ्घ केन्द्रीय सदस्य अमर खड्काले केन्द्रीय समितिबाट उपचारका लागि आवश्यक सहयोग गर्न आफूले पहल गर्ने बताए । युनियन जिल्ला अध्यक्ष ढकालले उपचारको क्रममा थप आवश्यक सहयोग गर्न युनियन तयार रहेको बताए ।

पत्रकार दियाली ‘गणराज्य’ साप्ताहिक पत्रिकाका सम्पादक÷प्रकाशक, मकालु टुडे अनलाइनका प्रधान सम्पादक हुन । नेपाल दलित पत्रकार सङ्घ र समाजवादी प्रेस सङ्गठनका केन्द्रीय सदस्य ४८ वर्षीय  दियालीलाई चिकित्सकहरूले मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।

मिर्गौला प्रत्यारोपणका लागि आवश्यक खर्च अभावका कारण उपचारमा सहयोग जुटाउन ‘पिबी दियाली बचाउ अभियान’ गठन भई सहयोग सङ्कलन अभियान सुरु गरिएको छ । अहिले न्युरो अस्पतालमा उनले डाइलसिस गराई रहेका छन् ।