इटहरी : इटहरी उपमहानगरपालिका ६ मा केन्द्रीय कार्यालय रहेको अम्बेकोशी सहकारीका पीडितलाई उजुरी दिन प्रहरीले आह्वान गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधवार सूचना प्रकाशित गर्दै धमाधम उजुरी सङ्कलन गर्ने कार्य भइरहेकाले सकेसम्म छिटो निवेदन दिन आग्रह गरेको हो ।

विराटनगर, विराटचोक र दमकका शाखा कार्यालय रहेको अम्बेकोशीका सञ्चालकले शेयरधनी र बचतकर्ताको रकम हिनामिना गरेको उजुरीका आधारमा थप पीडितको विवरण सङ्कलन गर्न प्रहरी लागि परेको छ । मनोज कुमार भट्टराई लगायत पीडितको जाहेरीका आधारमा अध्यक्ष फडिन्द्र मगर सहित ४ जना मङ्सिर ८ गते नै पक्राउ परिसकेका छन् । अध्यक्ष मगर सहित शिलादेवी विश्वकर्मा, राहुल अग्रवाल र कुमार आलेलाई जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार बुधवार सम्ममा ५९ वटा निवेदन मार्फत ३ सय भन्दा बढी पीडितको उजुरी परेको छ । प्राप्त जाहेरीका आधारमा १४ करोड ३६ लाख २९ हजार ५ सय ७३ रुपैयाँ ठगी भएको पाइएको छ । सहकारीमा ९ हजार ८ सय ९१ सेयर सदस्य रहेको अम्बेकोशीमा ११ हजार ८ सय ४५ जना बचतकर्ता रहेको प्रहरीको भनाइ छ ।