धरान : धरान वडा-१३ की ३५ वर्षिया निता शेर्पा लागुऔषध सहित काठमाण्डौमा पक्राउ परेकी छन् ।

उनी डेरा गरी बसेको कोठाबाट लागुऔषधको खरिद विक्री, ओसार पसार हुने गरेको अभियोगमा लागुऔषध सहित प्रहरीले गएको बिहीबार पक्राउ गरेको हो । 

निताको कोठामा छापा मारेर प्रहरीले खानतालस गर्दा विभिन्न लागुऔषध बरामद गरिएको प्रहरी वृत्त बानेश्वर काठमाण्डौले जनाएको छ ।

बरामद लागुऔषधहरुमा डाइजेपाम २ एमएलको १०५ एम्पुल, फेनेरगन २ एमएको १०५ एम्पूल, नुफिन २ एमएलको १०५ एम्पुल सहित कुल ३१५ एम्पुल छन् ।

कोठाबाट लागु औषधका एम्पुललाई बाँध्न प्रयोग गरिने रबर १८० थान, नगद ४५ सय रुपैयाँ र सामुसङ मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ । 

प्रहरी अनुसार काठमाडौँ महानगर वडा ३१ स्थित सुकुम्वासी टोलका भाइकृष्ण श्रेष्ठको घरमा कोठा डेरा गरी बसेकी निताको बारेमा प्रहरीले पूर्व सूचनाको आधारमा खानतलासी गरेको हो ।

पक्राउ परेकी नितालाई नियन्त्रणमा लिएर जिल्ला अदालत काठमाण्डौबाट ७ दिन म्याद थप गरी बानेश्वर वृत्त प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।