धरान : डिपो स्कुलको आयोजनामा सम्पन्न १८ औ ललित अम्बर डिपो कपमा हिमशिखर स्कुल तरहरा र देउराली चिल्ड्रेन एकेडेमी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सोमबार देखि सुरु भएको क्वाटर फाइनल खेलमा हिमशिखर स्कुलले नेपाल पुलिस स्कुललाई १-० र देउराली चिल्ड्रेनले समेत मेरिल्याण्ड स्कुललाई १-० गोल अन्तरले नै पराजित गर्दै सेमिफाइनल प्रवेश गरेका हुन ।

पहिलो क्वाटर फाइनल हिमशिखरका मन्जिल श्रेष्ठ र दोस्रो क्वाटर फाइनल खेलमा देउरालीका धिरज लिम्बुले गोल गरे । पहिलो क्वाटर फाइनल खेलमा नेपाल पुलिसका नितेस चौधरी र मेरिल्याण्ड स्कुलका गोलकिपर अकिलेस मगर म्यान अफ द म्याच घोषित भए । उनीहरूलाई नेपाल प्याराग्लाइडिङ सङ्घका केन्द्रीय अध्यक्ष भूपाल चाम्लिङ राई र पूर्वराष्ट्रिय फुटबल खेलाडी इन्दु रसाइलीले प्रमाणपत्र र ट्रफी प्रदान गरे ।

यसैगरी डिपो कपको पहिलो चरणमा पराजित टिमका लागि आयोजित स।दिलकुमार प्लेट च्याम्पियन सोमबार देखि सुरु भएको छ ।

प्लेट च्याम्पियनको पहिलो खेलमा मर्निङ स्टार स्कुलले आयोजक डिपो स्कुललाई १-० र दोस्रो खेलमा कार्मेल स्कुलले हिबिकसलाइ ३-० गोल अन्तरले पराजित गरेको छ। पहिलो खेलमा मर्निङ स्टारका जीवन विष्टले निर्णायक गोल गरे भने दोस्रो खेलमा कार्मेलका दशेन मगरले तिनै गोल आफ्नै नाममा लेखाउँदै ह्याट्रिक गरेका छन् ।

भोलिको पहिलो क्वाटर फाइनल खेल एक्वा सेकेन्डरी स्कुल र दिल्ली पब्लिक र दोस्रो क्वाटर फाइनल खेल बराह राइजिङ र लर्ड बुद्ध स्कुल बिच हुनेछ ।  प्रतियोगिताको सम्पूर्ण खेल डिपो स्कुलको खेलमैदानमा सम्पन्न भइरहेको छ ।