इटहरी : इलाका प्रहरी कार्यालय रङ्गेलिले प्रहरीसँग विद्यार्थी कार्यक्रम सम्पन्न गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रहरी सँग विद्यार्थीको संवाद कार्यक्रम गरिएको हो ।

समुदाय-प्रहरी साझेदारी अवधारणालाई मूर्तरूप दिन प्रहरी र नागरिक बिच सुमधुर सम्बन्धको विकासको लागि कार्यक्रम आयोजना गरिएको हो । मिनिलेण्ड अङ्ग्रेजी माविको समन्वयमा प्रहरीसँग विद्यार्थी कार्यक्रम अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताए । उनका अनुसार विद्यालयका ७० जना छात्रा, शिक्षक र शिक्षिकाहरूको उपस्थितिमा सय वटा बिरुवा रोपिएको हो ।

इलाका प्रहरी कार्यालयको हिरासतमा निर्माण भएको मानव मस्तिष्क आकारको पुस्तकालयमा विद्यालयले पुस्तक उपलब्ध गराएको छ । यसअघि सुनसरीको दुहबी इलाकामा रहँदा चौलागाईंले पुस्तकालय निर्माण गरी हिरासतका बन्दीहरूलाई पढ्ने वातावरण बनाएका थिए ।

पुस्तकले हिरासतमा रहेका अभियुक्तको दिमागमा सकारात्मक भावना विकास गर्ने उनको भनाइ छ । प्रहरी र अभियुक्त सबैको लागि पुस्तक बहुउपयोगी हुने भएकाले त्यसतर्फ ध्यान दिइएको चौलागाईंले बताए ।

कार्यक्रमको सिलसिलामा शिक्षक तथा विधार्थीहरुलाई लैङ्गिक हिंसा, जबरजस्ती करणी, बालयौन दुरुपयोग जस्ता समस्याहरूको विषयमा जानकारी गराइएको उनको भनाइ छ । उजुरी दिने माध्यम, प्रक्रिया, कानुनी व्यवस्था बारेमा प्रशिक्षण समेत प्रदान गरिएको प्रहरी निरीक्षक चौलागाईंले जानकारी दिए ।