इटहरी : सुन्दरहरैंचा नगरपालिकाको कर समायोजन नभएको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडा नम्बर २ का स्थानीयले बारम्बार ध्यानाकर्षण पत्र बुझाउँदा समेत निकास नआएपछि तालाबन्दी गरेका हुन् ।

नगरपालिकाको राजस्व, दस्तुर तथा जरिवाना शुल्कमा अत्यधिक वृद्धि भएको भन्दै स्थानीय आक्रोशित छन् । शुक्रवार बिहान वडा कार्यालय पुगेका स्थानीयले नगर प्रमुख केदार प्रसाद गुरागाईँको अकर्मण्यताको भारी जनताले भोग्नुपरेको बताए ।

दुई नम्बर वडाका स्थानीय खेमराज गौतम अघिल्लो साल नौ सय रुपैयाँ तिरेको कर यसपालि १० हजार ३ सय पुगेको बताउँछन् । एउटै जग्गाको यति धेरै कर वृद्धि गरेर नगरपालिकाले अत्याचार गरेको उनको भनाइ छ । "जग्गाबाट हुने आम्दानी सबै नगरपालिकालाई बुझाएपछि घर परिवार के ले पाल्नु ? देशमा कसरी बस्नु ?", उनले प्रश्न गरे ।

यसअघि असोज मसान्त देखि २५ प्रतिशत कर घटाउने सहमति भएपनि नगरपालिकाले पुरानै दरमा राजस्व सङ्कलन गरिरहेको स्थानीयको गुनासो छ । मङ्सिर १८ गते सोमबार वडा अध्यक्ष विवश प्रधानलाई ध्यानाकर्षण पत्र बुझाएका स्थानीय बासीले मङ्सिर २१ गते सम्मको अल्टिमेटम दिएका थिए । सोही अनुसार शुक्रवार वडा कार्यालयमा तालाबन्दी भएको हो ।

sundarharaicha karyalaya talabandi 3

sundarharaicha karyalaya talabandi 2