इटहरी : मोरङको सुन्दरहरैँचा-५ रेडक्रस चोकमा गफिँदै छिन् बबिता चौधरी । चौधरी भाषामै पानी र सितलहरबाट जोगिएको सुनाउँछिन् उनी । छिमेकीहरू सँग गफिँदै छानो फेरिएकोमा खुसी व्यक्त गर्छिन् । ‘डाक्टर शेखरले कोण सभामा छानो फेरिदिन्छु भन्नुभयो । अस्ति नेताहरू आएर छानो लगाइदिनु भयो । अब खानेपानीको बन्दोबस्त भए राम्रो हुन्थ्यो । १८ परिवारले एउटा कल चलाएर पानी खानुपर्ने बाध्यता छ,’ उनले भनिन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाको निर्वाचन क्षेत्र हो सुन्दरहरैँचा । सुन्दर सुन्दरहरैँचाका २, ३, ४, ५, ६ र ७ नम्बर वडा मोरङ क्षेत्र नम्बर ६ मा पर्छन् । चुनावको समयमा शिक्षा, स्वास्थ्य र गरिबी निवारणमा काम गर्ने कोइरालाले बाचा गरेका थिए । शिक्षा मार्फत मौलिक कला संस्कृतिको संरक्षण गर्ने उनको बाचा थियो । जनस्वास्थ्यको क्षेत्रमा स्थानीय तह, प्रदेश र सङ्घीय सरकारको समन्वयमा काम गर्ने उनले बताएका थिए । भूमिहीन सुकुम्वासीको समस्या समाधानमा पहल गर्नुपर्ने उनको भनाइ थियो ।

सोही अनुसार विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्नतिमा उनले ध्यान दिएका छन् । रेडक्रस चोकमा एउटै भवनमा १८ परिवार बस्दै आएका छन् । लामो समयदेखि छानो चुहिएर फेर्न नसक्ने अवस्थाका उनीहरूलाई डा. कोइरालाको सहयोगमा छानो फेरियो । छानो फेरिएसँगै खसी भएका स्थानीयले थप आशा गरेका छन् । गुणस्तरीय खानेपानीको व्यवस्था होस् भन्ने उनीहरूको माग छ । सबै परिवारले संयुक्त रूपमा एउटै कल (पानी तान्ने ट्युबेल) प्रयोग गर्नुपरेको उनीहरू बताउँछन् ।

सुन्दर सुन्दरहरैँचा नगरपालिकाले खोला ठेक्का नलगाएपछि उनीहरूको रोजगारी गुमेको छ । नजिकैको बुढी खोलामा बालुवा चाल्ने काम गर्दै आएका उनीहरू बेरोजगार भएका हुन् । नेता ज्यूहरूले रोजगारीको लागि भरपर्दो व्यवस्था गरिदिए आभारी हुने उनीहरूको भनाइ छ ।

babita-chaudhary-2