धरान : अन्तरजातीय प्रेम कथामा आधारित चलचित्र ‘दुई कदम’ आज शुक्रवार देशभर एकसाथ रिलिज भएको निर्देशक उदय सुब्बाले बताएका छन् । धरानमा फ्रेण्ड सिनेमा हलमा भएको पहिलो शोमा दर्शकहरूको उत्साहप्रद उपस्थिति देखियो । निर्देशक सुब्बासँगै हलमा भेटिएका वरिष्ठ अभिनेता प्रेम सुब्बाले चलचित्र युवा दर्शकले मन पराएको बताए । ऊनीसँगै चलचित्र कलाकार रेखा लिम्बु, सुरेश नियोङहाङ लगायत हल पुगेका थिए ।

‘दुई कदम’मा अहिलेको पुस्ताका पूर्वको रैथाने लिम्बु युवा र आर्यन युवतीको प्रेम कथालाई प्रस्तुत गरिएको छ । चलचित्रमा अहिलेको पुस्तामा बढेको अन्तरजातीय प्रेम सम्बन्धलाई निर्देशक उदय सुब्बाले मन छुने किसिमले प्रस्तुत गरेका छन् । अहिलेको जमनाका युवायुवतीहरूमा एक अर्काप्रतिको आकर्षणमा जाति, सम्प्रदाय गौण हुँदै गएको सन्देश चलचित्रले दिन खोजेको छ ।

चलचित्रमा प्रमुख कलाकार वर्षा र इओनका साथमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय रहेको छ । अजम्बरी फिल्मसको ब्यानरमा बनेको चलचित्रमा तारादेवी लिम्बुको लगानी छ ।

चलचित्रको एउटा गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निवार्ह गरेका छन् । छायाङ्कन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

चलचित्रमा दयाराम घिमिरेको कथा तथा पटकथा, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन रहेको छ ।

dui kadam next