धरान : चलचित्र 'सतीदेवी' को फर्स्टलुक पोस्टरले सर्वत्र चर्चा पाएको छ । लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा बनेको चलचित्रको फर्स्टलुकमा अभिनेत्री मलिका महत तनावग्रस्त अवस्थामा भाग्दै गरेको देखिएकी छिन । उनलाई गाउँलेहरूले लखेटिरहेका छन् ।

यसअघिका चलचित्र तथा म्युजिक भिडियोका कारण लभर गर्लका रूपमा परिचित भएकी मलिकालाई ‘सतीदेवी’ बाट चरित्रमा डुबेर अभिनय गर्ने मिहिनेती अभिनेत्रीका रूपमा लिन थालिएको छ । फर्स्टलुकबाटै चर्चाको चुलीमा परेको ‘सतीदेवी’ को अगामी दिनका प्रचार सामाग्री, टिजर, टेलर तथा गीत कस्तो होलान् भनेर अहिले दर्शकमाझ कौतुहलता बढेको पाइएको छ ।

‘सतीदेवी’ को फर्स्टलुकको तारिफ गर्दै दीपकराज गिरी, रेखा थापा, पूजा शर्मा, केकी अधिकारी, वर्षा शिवाकोटी, सुरक्षा पन्त, गजीत विष्ट, प्रताप दासलगायतका सेलिब्रेटीले फेसबुकमा शेयर गरेका छन् भने सरोज खनाल, स्वस्तिमा खड्का, पल शाह, वर्षा राउत, कुन्साङ बमजनलगायतले इस्टामा शेयर तथा शुभकामना व्यक्त गरेका छन् ।

सार्वजनिक पोस्टरमा रातो कुर्था सुरुवाल लगाएकी अभिनेत्री मलिका भाग्दै गरेकी छिन् । मुहारमा कालो मोसो दलिएको मलिकाको घाटीमा जुत्ताको माला भिराइएको देखिन्छ । उनका आँखाबाट आँशु झर्नुका साथै मुहारमा पीडाको पहाड प्रष्ट देखिन्छ । गाउँले पृष्टिभूमि चित्रित पोस्टर हेर्दा मलिकाले सामाजिक विद्रोह गरेको आङ्कलन गर्न सकिन्छ ।

दीपक शर्मा र सुवास भुसालको सङ्गीत रहेको चलचित्रका गीतमा प्रताप दास, दीपा लामा,ममता गुरुङ र सवीन सुवेदीको स्वर छ । बाबु श्रेष्ठले खिचेको चलचित्रको सम्पादन तारा थापा ‘किम्भे’ ले गरेका हुन् भने कोरियोग्राफी रामजी लामिछाने र पार्श्व सङ्गीत सम्राट थापाको छ । कुनाल कुँवरको कलर ग्रेडिङ रहेको चलचित्रको प्रदर्शन मिति छिट्टै सार्वजनिक गरिने बताइएको छ ।