धरान : धरानको भोटेपुलबाट ट्याम्पोमा चढेका रमेश यादव अलि तल्तिर बरगाछीमा ओर्लिए । ट्याम्पो चालकलाई भाडा बापत सय रुपैयाँको नोट दिए । तर, उनले फिर्ता पाउनुपर्ने ६० रुपैयाँ पाएनन् । जब यादवले फिर्ता पैसा मागे, उनलाई चालकले भाडा १०० रुपैयाँ रहेको बताए ।

उनले भने ‘म विराटनगरबाट कलेज बुझ्न धरान आएको थिएँ, बस भएकै ठाउँसम्म पुर्‍याइदिन्छु भनेपछि म भोटेपुलबाट ट्याम्पो चढेको हुँ ।’ बस बरगाछीमै भेटे तर ट्याम्पो चालकले सय रुपैयाँ भाडा लिए ।

पैसा दिनुस् भनेर उनले चालकसँग अनुरोध गरे । तर, उल्टै यादवले जवाफ पाए, ‘फिर्ता दिने पैसा छैन, बन्दको बेला रिस्क लिएर चढाएको छु । अबबाट सोधेर मात्रै ट्याम्पो चढ्ने गर्नुस् ।’ सामान्य विवाद भएपछि यादव थप झमेलामा पर्न चाहेनन् र आफ्नो बाटो लागे।

बगरकोटबाट भानुचोक पुगेर फर्किएकी अस्मिता श्रेष्ठले जाँदा आउँदा नै ५०/५० रुपैयाँ तिरिन्, तर, फिर्ता दिनेबारे सिटी सफारी चालक केही बोलेनन्, उनले पनि बन्दको बेला दुवै पटक २० रुपैयाँमा के किचकिच गर्नु भनेर त्यसै ओर्लिएर हिँडिन् ।

बन्दको बेला यात्रुले पैसा फिर्ता मागिहाले ट्याम्पो, सिटी सफारी चालकसँग सजिलो जवाफ छ, ‘बन्द हो, रिस्क लिएका छौ, फर्किदा मान्छे पाइँदैन ।’ अरुबेला धरान देखी इटहरीसम्म जाँदा ट्याम्पोले ५०० रुपैयाँसम्म लिने गरेको थियो ।

गोटा गन्तीमा जाँदा एक जनाको सय रुपैयाँ लिने ट्याम्पो चालकहरूले बन्दको बेला गोटा गन्ती मै ५०० र रिजर्भ जानु परे १५०० देखी २ हजार सम्म भाडा लिएको पाइयो ।

५५ वर्षीय लक्ष्मी सुनारले माछा भौडीदेखी दुहबीसम्म जानको लागि ३ हजार रुपैयाँमा ट्याम्पो रिजर्भ गरिन् । बिरामी भएर उपचारका लागि धरान आएकी सुनारले बसमा घर फर्किन जोखिम हुने भनेर ट्याम्पो रिजर्भ गर्न बाध्य भएको बताइन ।

उनले भनिन् ‘छोराले बसमा नआउनु गाह्रो पर्छ भन्यो । म बुढी मान्छे भागदौड गर्न पनि सक्दिन ।’ बिहान धरान आउँदा तीनकुने मै बस रोकिएपछि आफूले दुःख पाएको उनले सुनाइन ।

प्रदेश १ पुनः नामाकंन संयुक्त सङ्घर्ष समितिले शनिवार र आइतबार कोशी प्रदेशमा यातायात बन्दको आह्वान गरेको थियो । बन्दलाई एउटा अवसर बनाएर ट्याम्पो चालकहरूले अतिरिक्त भाडा लिएका हुन् ।  तर यसबारेमा आफूहरूलाई केही जानकारी नभएको पहिचानवादी नेता जसपा धरान नगर अध्यक्ष  ताजुब लिम्बु बताउँछन् ।

उनले भने ‘हामीले सार्वजनिक बस मात्र बन्द गरेका होइनौ, प्रदेश भरको पुरै यातायात बन्द गरेका हौ । ट्याम्पोलाई पनि रोकिनै रहेका थियौ । तर भित्रभित्रै महँगो भाडा लिएर कुदिरहेको रहेछ ।’

नेकपा एमालेको सङ्कल्प यात्रा टोलीलाई अवरोध गर्दा ४१ जना पहिचान पक्षधर कार्यकर्ता पक्राउ परेका थिए । पक्राउ परेका नेता कार्यकर्तालाई छाड्न माग गर्दै संयुक्त सङ्घर्ष समितिले बन्दको आव्हान गरेको हो ।

बन्दको असर लामो दुरीका यात्रुमा परेका देखियो । इमर्जेन्सी यातायातलाई आफूहरूले नरोकेको पहिचानवादी नेता सागर सरगमले बताए । ‘हामी हिंसामा विश्वास गर्दैनौँ, मानवीय संवेदनशीलता बुझेर शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ ।

पहिचान पक्षधरले गरेको दुई दिने बन्दमा धरानका मुख्य सडकमा पहिचान पक्षधर समूहका नेता, कार्यकर्ता देखिएका थिए भने भित्री सडकमा सवारीसाधनहरू चलेका थिए । पसलहरू पूर्ण रूपमा खुलेका थिए । शैक्षिक संस्थाहरू बन्द गरिएका थिए ।

प्रहरीले स्कर्टिङ गरेर केही सार्वजनिक सवारीलाई धरान बाहिर पठाएको थियो । पूर्वपश्चिम राजमार्गको ठाउँ ठाउँमा बन्द गराउँदै सडकमा निस्किएको समूहलाई प्रहरीले हटाएर यातायात सुरु गरे पनि यातायातका साधन सामान्य मात्रै चलेका थिए ।

धरानबाट विराटनगर जाने बस चल्न बन्द भएपछि सर्वसाधारण ट्याम्पो चढ्न बाध्य भए । ट्याम्पो सञ्चालकहरूले मनपरी रूपमा अत्यधिक महँगो भाडा असुल्दा सर्वसाधारण मारमा परेका छन् ।

banda-dharan-tampoobanda-ma-tampoo