इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले लोकतान्त्रिक पार्टीका विरुद्ध देशी विदेशी शक्ति लागेको बताएका छन् । नेपाली काँग्रेस मात्र लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र भइरहेको बताए ।

बिहीबार सुनसरीको इनरुवामा आयोजित सभालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले लोकतन्त्र कमजोर बनाउने प्रयास असफल बनाउन आग्रह गरे । "अहिलेको अवस्थामा नेपाली काँग्रेस कमजोर हुनुभएन । काँग्रेस कमजोर हुने बित्तिकै लोकतन्त्र कमजोर हुन्छ । लोकतन्त्र कमजोर भएपछि  देश भड्खालोमा जान्छ," उनले भने ।

सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र माथि प्रहार भइरहेको उनको भनाइ छ । यो प्रणाली कुनै हिसाबमा खराब नभएको बताउँदै उनले नेतृत्वको आचरण खराब भएकाले नैतिक बल गुमिसकेको बताए । नैतिक बल गुमाइसकेको नेतृत्वबाट थप आस गर्न नहुने धारणा राखे ।

मन्त्रीको अराजकताले गणतन्त्र र धर्मनिरपेक्षता माथि प्रश्न उठेको उनको भनाइ छ । पर्यटन मन्त्री सुदन किराँतीले धर्मलाई लिएर दिएको अभिव्यक्ति खेदजनक रहेको डाक्टर कोइरालाको आरोप छ । दण्डहीनता र अराजकता बढेको भन्दै सरकार पूर्णतः असफल भएको उनको टिप्पणी छ ।

गुटको नाममा काँग्रेस उम्मेदवार लाई भोट नहाल्ने काँग्रेस हुनै नसक्ने उनले सुनाए । पार्टी भित्रको एकता कायम गर्न सके जुनसुकै शक्ति आए पनि काँग्रेस लाई पराजित गर्न नसक्ने प्रष्ट पारे ।