धरान : अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पूर्वसन्ध्यामा आयोजना हुँदै आएको भेडेटार फुड फेस्टिभल यसपालि पुष १५ गते आइतबार देखि सुरु हुने भएको छ । फुड फेस्टिभलमा सधैँ भेडेटारमा भारतीय साथै आन्तरिक पर्यटकहरूको भीड लाग्ने गर्दछ ।

यसपालि हुने ३ दिने फेस्टिभल एघारौँ हो । होटेल एसोसिएसन अफ भेडेटारले आज शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो ।

एसोसिएसनका पूर्व अध्यक्ष तथा साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दालीले भने ‘नयाँ वर्ष मनाउन भेडेटारमा अत्यधिक भारतीय पर्यटक आउने गरेका छन् ।’

उनीहरूलाई कम्तीमा एक रात राख्न सकियो भने निकै उपलब्धि हुने बताउँदै यसपालि भारतीय बोर्डरबाट दैनिक ४/५ सय गाडी भित्रने जानकारी पाएको उनले उल्लेख गरे ।

अध्यक्ष रुम्दालीले भने ‘यसपालिको फेस्टिभलको माध्यमबाट हामी भेडेटारको थप विकासका लागि लगानी भित्र्याउन निजी कम्पनीहरूलाई आह्वान गर्दैछौं ।’

उनले भेडेटारको पर्यटनसँगै यस क्षेत्रको स्थानीय कृषि उत्पादनलाई बजारीकरणलाई फेस्टिभल मार्फत जोड्ने काम गरिँदै आएको बताए । अध्यक्ष रुम्दालीका अनुसार केही उत्पादन र कम्पनीहरूले खुलेर प्रचार प्रसार र ब्राण्डिङ गर्न नपाउने राज्यको नीतिले फेस्टिभल सञ्चालनमा केही अप्ठ्यारो भएको छ ।

उनले भेडेटारको पर्यटनको प्रवर्धनका लागि कोसी किनार स्थित खुवालुङ देखि ध्वजे डाँडासम्म पदमार्ग निर्माण गर्ने, हाइकिङ र अन्तर्राष्ट्रिय म्याराथन लगायतका काम गर्ने गाउँपालिकाको योजनागत लक्ष्य लिएको लिएको बताए ।

होटेल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले फुड फेस्टिभलमा राई, लिम्बू, मगर, गुरुङ, याम्फू, तामाङ, नेवारी लगायतका जातीय मौलिक परिकार उपलब्ध हुने बताए । सोही अवसरमा साहसिक खेल, नयाँ पर्यटकीय गन्तव्यको पहिचानमा फेस्टिभल केन्द्रित रहने उनको भनाई छ ।

अध्यक्ष लिम्बुले एसोसिएसनले उत्सवमा स्थानीय दर्जन बढी धार्मिक तथा पर्यटकीय स्थल पहिचान र प्रवर्धन गरी घुम्ने वातावरण तयार गरेको बताए ।

फेस्टिभलमा स्थानीय कृषकहरूले उत्पादन गरेका कृषिजन्य बस्तुहरूको प्रदर्शनी, हस्तकला घरेलु उत्पादन, फूल, नर्सरी विक्री वितरण हुनेछ । परम्परागत सांस्कृतिक झाँकी, माउन्टेन बाइक, प्याराग्लाइडिङ, स्थानीय, राष्ट्रिय कलाकारको सांस्कृतिक कार्यक्रम फेष्टिवलको मुख्य आकर्षण रहेको बताइएको छ ।

फेस्टिभल २०६८ सालदेखि उत्सवका रूपमा मनाउन सुरु गरिएपछि भेडेटारमा होटेल पूर्वाधार लगायतमा विकास हुँदै गएको हो , अहिले एकरातमा १५ सय २ हजार व्यक्तिले रात बिताउन सक्ने गरी भेडेटारमा होटेल र होमस्टेको विकास भएको छ ।

गाउँपालिका अध्यक्ष रुम्दालीले भने ‘निजी कम्पनी लगानीकर्ताको आकर्षण बढेको छ, जिपलाइन, स्काइ ब्रिज र अन्य पर्यटकीय गतिविधिमा वृद्धि भएको छ ।’ फुड फेस्टिभलले भेडेटार चोकदेखि काम्फेक, थुम्की, नाम्जे र नमस्ते झरना सम्मको पर्यटन प्रवर्धन गरिरहेको छ ।