धरान : तेस्रो अशोक वास्फोर स्मृति बास्केटबल प्रतियोगिताको शनिवार भएको उद्घाटन खेलमा ब्रदर्श बास्केटबल क्लब काठमाडौँ विजयी भएको छ । व्रदर्शले यलम्वर बास्केटबल क्लबलाई ५०-४८ अङ्कको झिनो अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक खेलमा पहिलो र दोस्रो क्वाटरमा यलम्वर ९-८ र दोस्रो क्वाटरमा १२-८ अङ्कले अगाडि रहँदै पहिलो हाफमा २१–१६ अङ्कको अन्तरले अगाडि रहेको थियो । मध्यान्तर पछि ब्रदर्श खेलमा फर्किँदै तेस्रो क्वाटरमा १५–१४ र चौथो क्वाटरमा १९–१३ अङ्कले अग्रता लिँदै ५०-४८ अङ्कको झिनो अन्तरले ब्रदर्श विजयी भएको हो ।

खेलमा टिमलाई जिताउन उत्कृष्ट प्रदर्शन गर्दै ब्रदर्शका सर्वधन राईले व्यक्तिगत १८ अङ्कको योगदान दिए । प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि धरान-१६ का वडाध्यक्ष मुरारि भट्टराई र दिवङ्गत अशोक वास्फोरकी श्रीमती इन्द्रवति वास्फोरले गरेकी थिइन ।

यसैगरि अन्य प्रतिस्पर्धामा विराटनगरले तरहरा स्पोर्टस क्लबलाई ६६-३३, चक्रपथ काठमाण्डौले इटहरीलाई २८-२१, होराइजनले धनकुटालाई ६६-३५, इमोर्टलले मिराकललाई ६९-५७ र रेड डेभिल्सले झापा बिर्तामोडलाई २७-२३ अङ्कको अन्तरले पराजित गरे । खेलमा विराटनगरका वर्दन शाहले २५, चक्रपथका सुजन लामाले ७, होराइजनका अर्मत राईले १८, इमोर्टलका सुजन महर्जनले २९ र रेड डेभिल्सका नितेश बस्नेतले व्यक्तिगत १३ अङ्क जोडेका थिए ।

प्रतियोगिताका विजेताले नगद ६० हजार रुपैयाँ, उपविजेताले नगद ३० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद ११ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।