धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफूलाई इसाई धर्मको ‘पास्टर’ भनेर सामाजिक सञ्जालमा लेख्न बन्द गर्न आग्रह गरेका छन् । उनले भने ‘सबै धर्मलाई म सम्मान गर्छु तर गोपाल मन्दिर अगाडि चर्च बनेको विषयबाट मलाई सामाजिक सञ्जालमा एउटा वर्गले भन्ने गरेको ‘पास्टर’ भन्न आजै देखी छोडिदिने हो कि ?’
इसाई धर्मावलम्बीहरूको पर्व ख्रिष्टमशको पूर्व सन्ध्या आइतबार आयोजित ख्रिष्टमस, उँधौली, चासोक, ल्होसारको शुभकामना आदान प्रदान कार्यक्रममा मेयर सम्पाङले ‘पास्टर’ भन्ने बित्तिकै कुनै चर्चमा ‘लिडिङ’ गरिरहेको मान्छे बुझिने बताए । उनले प्रश्न गरे ‘कुन चर्च छ मेरो ?’
मेयर साम्पाङले आफूलाई गाली गर्ने समुदाय, संगठननै भएको बताउँदै भने ‘उनीहरूलाई मेरो आग्रह छ, पास्टर पास्टर भनेर अगाडि लाउन छोड्नुस् बरु अरू कुरा स्विकार्छु ।’ उनले आफू किरात समुदायमा जन्म लिएको बताउँदै भने ‘मलाई किरात धर्मको बारेमा पनि थाहा छैन ।’
धरानमा सद्भाव भड्कियो, सद्भाव भड्काउन मेयरले भूमिका खेल्यो भन्दै दिनरात गालीको वर्षा आइरहेको नगर प्रमुख साम्पाङले बताएका छन् । सद्भाव भड्काउन आफ्नो कुनै भूमिका नरहेको भन्दै उनले भने, ‘मैले कहाँनेर सद्भाव भड्काउन खोजेको थिएँ ? म प्रश्न गर्न चाहन्छु, मिडियामार्फत ती व्यक्तिहरूलाई ।’
आफूमाथि धरानमा सद्भाव भड्काउने काम गरेको आरोप लगाइएको बारेमा मेयर सम्पाङले भने ‘मिलेर काम गर्नुपर्छ भन्ने मान्छे, कहाँनेर चाहिँ मैले सद्भाव भड्काउन चाहेको थिएँ ?’ उनले त्यो मिथ्या आरोप नलाउन पनि आग्रह गरे ।
उनले भने ‘अब सद्भाव कसले भड्काउन चाहेको थियो भन्ने चाहिँ छ ।’ व्यवस्था विरोधीहरूले सद्भाव भड्काउन लागेको आरोप लगाए । उनले भने, ‘यहाँनेर सद्भाव भड्काउनुपर्छ भन्नेहरू पनि छन् यहाँ देशलाई यो धर्म दिनुपर्छ, यसो गर्नुपर्छ, व्यवस्था ठिक छैन भन्ने साथीहरू पनि हुनुहुन्छ, उहाँहरूकै हो, यो भित्री षडयन्त्र, धरानलाई बदनाम गराउन खोज्ने ।’
फोटो पत्रकार सङ्घ सुनसरीले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि मेयर साम्पाङले कार्यक्रमका पूर्व वक्ताहरूलाई सङ्केत गर्दै भने ‘भाषण त हामीले राम्रो गर्‍यौँ, अब व्यवहार के हुने हो त ?’ भाषण राम्रो गरे भने त गाली आउँछ, अहिले त्यस्तो छ जमाना भएका बताउँदै पुनः प्रश्न गरे ‘भरे फर्केर जाँदा हाम्रो व्यवहार के हुने हो ?’
उनले राम्रो भाषण गरेर मात्र होइन व्यवहारमा शुद्धता ल्याउनु पर्ने बताउँदै आत्मामा शुद्धता ल्याएमा मात्र जीवनलाई नै धार्मिक जीवन भन्नुपर्छ । त्यो अभ्यास गर्न सक्नुपर्ने बताउँदै उनले भने ‘फगत दुईचार वटा खबर बनाउन न्युज, भ्युज बढाउन र औपचारिकता पूरा गर्न मात्र यो कार्यक्रम आयोजना गरिएको होइन ।’
यसअघि प्राडा. टङ्कप्रसाद न्यौपाने, प्राडा. राजेन्द्र शर्मा, उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले ख्रिष्टमश पर्वप्रति सकारात्मक धारणा राखेका थिए । प्राडा.न्यौपानेले ख्रिष्टमश संसार भरी मनाइने पर्व भएको बताउँदै नेपालमा सबै नेपालीले पनि यो पर्व मनाउँदै आएका बताए । उनले भने ‘धर्मनिरपेक्ष संविधान भएको देशमा धार्मिक विवाद हुनुको मुख्य कारण ब्राम्हणवादी राजनीति हो ।’
प्राडा.राजेन्द्र शर्माले भने ‘अमेरिका, अस्ट्रेलिया गएका कुनै पनि अभिभावकले त्यहाँ ख्रिष्टमश मनाएकै हुन्छन् किनकि त्यहाँ हुर्केका नानीहरूलाई ख्रिस्टमश ट्री घरमा नसजाई हुन्न ।’ नेपालीहरू नेपालमा मनाइने सबै पर्व उत्साह पूर्वक मनाइरहेका हुन्छन्, यसमा कसैले प्रश्न उठाएका छैनन् भन्ने उनको भनाई थियो ।
कार्यक्रममा मेयर सम्पाङले धरानमा एयरपोर्ट बने पनि चल्न नसक्ने भनी अध्ययन समितिले प्रतिवेदन बुझाउन लागेको भनी मिडियामा आएको कुरा हल्ला मात्र भएको बताए । ‘कपुरी न्युज’ एक प्रश्नमा उनले भने ‘प्रतिवेदन नै बुझाएको छैन ।’ एयरपोर्ट बन्ने तर चल्न नसक्ने भनेको के हो ? भनी आफै प्रश्न गरे ।
सरकारका मन्त्रीहरू धरानमा एयरपोर्ट बनाउन सहमत भएको तर विकास विरोधी तत्त्वहरू बन्न नदिन परेको बताए । उनले भने ‘ऐन कानुन संशोधन वा परिवर्तन गरेर भए पनि विमानस्थल बनाउनु पर्छ ।’ काम गर्दा जहिले पनि कानुनले अड्काउने भएकोले समय सन्दर्भ नियम कानुन परिवर्तन गरेर भए पनि एयरपोर्ट  बनाउनु पर्ने उनको भनाई छ । तर कुन कानुनले अवरोध गरेको हो उनले खुलाएनन् ।