विराटनगर : कोशी प्रदेश प्रमुख परशुराम खापुङलाई आइतबार राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०७९/०८० को तेश्रो वार्षिक प्रतिवेदन पेश गरेको छ ।

नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आयोगका सदस्य टुन्ज बराइलीको नेतृत्वको टोलीले प्रदेश प्रमुखको सचिवालयमा प्रतिवेदन पेस गरेको हो । प्रतिवेदनमा हक, अधिकार हननका घटना, राज्यबाट भएका पहल लगायतका तथ्यहरू समावेश छ।

प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख खापुङले २०२० भाद्र १ गते जारी मुलुकी ऐनले छुवाछुत दण्डनीय तोकिए पनि अहिलेसम्म भेदभाव भइरहनु दुःखद भएको बताए । उनले भने ‘दलित समुदायबाट स्वास्थ्य कार्यकर्ताको हातबाट औषधि नलिने जस्ता लज्जाजनक घटना पनि भएको छ।’ यी समस्या दलितको मात्रै नभई राष्ट्रिय समस्या भएको प्रदेश प्रमुखको भनाई थियो ।

आयोगका सदस्य टुन्ज बराइलीले दलित समुदायले छोएको पानी मात्रै नभई माया पनि चल्न छोडेको बताए । युवावस्थामा प्रेम भए पनि जातको कारण मारिनेसम्मको घटना दुःखद भएको उनको भनाई थियो ।