विराटनगर : सहरका अधिकांश बालबालिका सुविधा सम्पन्न विद्यालय जान्छन् । उनीहरूका परिवारमा खर्च गर्ने र घरमा आफै गृहकार्य गराउने क्षमता पनि हुन्छ । विपन्न अभिभावक दैनिक गुजाराको कामले ती सबै गर्न सक्दैनन् र जान्दैनन् पनि ।

विपन्न परिवारका पढ्न चाहने बालबालिकाका लागि पछिल्लो समय जीवन विकास लघुवित्तले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेपछि दुई हजार बढी अभिभावकका बालबालिका गुणस्तरीय शिक्षाको पहुँचमा पुगेका छन् ।

गुणस्तरीय शिक्षामा बालबालिकाको पहुँच अभियानबाट विपन्न परिवारका छोरा, छोरी मात्र होइन विद्यालयमा पहुँच नपुगेका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई समेत पहुँचमा पुर्‍याएको छ ।

विराटनगर-१३ रानी महतो टोलका कुन्दनकुमार महतो १४ वर्ष पुगे । शारीरिक रूपमा अशक्त महतोलाई स्कुल जान मन छ तर हिँडडुल गर्न सक्दैनन् । तीन चक्के बैसाखीको सहारामा उनी बेलुका ज्योति महतोको घर पुग्छन् र निःशुल्क ट्युसन पढेर फर्कन्छन् ।

निःशुल्क ट्युसन पढ्न थालेपछि कुन्दनलाई स्कुल जाने आँट आएको छ । उनले भने ‘सरस्वती पूजामा स्कुलमा नाम लेखाउँछु ट्युसनबाट पढ्न र लेख्न सिकेको छु ।’ टोलमा ज्योतिले ट्युसन पढाउन थालेको सात महिना भयो ।

जीवन विकास लघुवित्तले निःशुल्क ट्युसन सेन्टर खोलेर उनलाई शिक्षक नियुक्त गरेपछि टोलका विपन्न परिवारका बालबालिका भेला गरेर पढाउन थालेकी हुन् । उनीसँग ४२ जनाले बालबालिका ट्युसन पढ्छन् ।

विराटनगर १४ मा लक्ष्मण ठाकुर र विराटनगर १८ मा अमृताकुमारी साहले जीवन विकास लघुवित्त मार्फत ट्युसन पढाइरहेका छन् । विराटनगरमा मात्र नभई, लघुवित्तले ४४ वटा स्थानीय तहका ६० स्थानमा ट्युसन सेन्टर खोलेको छ, सेन्टरमा २ हजार ५८ विपन्न परिवारका बालबालिका निःशुल्क पढिरहेका छन् । जसमा १ हजार ७४ छात्र र ९८४ छात्रा छन् ।

बालबालिकाको गुणस्तरीय शिक्षाको अभियानमा सहयोग गर्ने उद्देश्यले संस्थाले निःशुल्क ट्युसन सेन्टर सञ्चालन गरेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले बताए ।

‘सम्पन्न परिवारका बालबालिका बोर्डिङ स्कुल जान्छन्, बिहान बेलुका छोराछोरीले होमवर्क हेर्छन् तर विपन्नलाई दैनिक गुजारा जुटाउँदै ठिक्क हुन्छ, बच्चाका बारेमा चासो लिने समय हुँदैन ।’ जीवन विकासले तीन वर्षअघि मोरङको डाइनियामा निःशुल्क ट्युसन सेन्टर चलाएको थियो । प्रतिक्रिया राम्रो आएपछि अन्यत्र विस्तार गरेको हो ।

ट्युसन पढाउनका लागि प्रत्येक सेन्टरमा एक जना शिक्षक तोकिएका छन् । एउटा सेन्टरमा न्यूनतम १५ देखि ४५ जनासम्म बालबालिका पढ्छन् । ती विद्यार्थीलाई आवश्यकताका आधारमा जीवन विकासले शैक्षिक सामाग्री पनि उपलब्ध गराइरहेको छ ।निःशुल्क ट्युसन सेन्टरमा आउने बालबालिकाहरू नियमित स्कुल जाने र आफ्नो सन्तानको पढाई प्रति अभिभावकको चासो पनि तुलनात्मक रूपमा बढेको उनले जानकारी दिए ।