धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका सामाजिक सञ्जाल फलोअर्सहरु प्रायः: रातको समयमा फेसबुक र टिकटक लाभईमा उनले गाउने गीत सुन्छन् । गिटार लिएर निकै लामो समय सम्म उनले लाइभ गाउने गीत एकालाप जस्तो लाग्ने कतिपय बताउँछन् ।

मेयर साम्पाङका अधिकांश गीत आफूलाई चित्त नबुझेका कुराप्रति रोष प्रकट गरिएको पाइएका छन् । भोला खाएर जतासुकै फ्यात्त फ्यात्त खोल फ्याक्नेहरु देखी ठेकेदारलाई फटाहा भन्ने सम्मका गीत धेरैले हेरेका सुनेका छन् । उनले गाउने गीतलाई ‘गीतै होइन’ भन्नेहरू पनि नभएका होइनन् ।

सामाजिक सञ्जालमा उनको लाइभ हेर्नेहरूका अनुसार उनी एकै साथ दुई वटा मोबाइलमा टिकटक र फेसबुक लाइभमा गीत गाउने गरेको बताउँछन् । कसैले ११ बजे राती हेरेको भन्छन् भने कसैले त्यो भन्दा अबेर रात सम्म गिटार लिएर गीत गाएको देखेको बताउँछन् ।

मेयर साम्पाङ अबेर रात सम्म किन गीत गाउँछन् ? उनीसँग फरक मत राख्ने र उनका फलोअर्सहरुको बेग्ला बेग्लै धारणा होला । त्यसो त मेयर साम्पाङलाई कहिले कहीँ औपचारिक कार्यक्रममा पनि भाषण गर्दा गर्दै गीत गाउने ‘मुड’ हुन्छ र गाउँछन् ।

आज मङ्गलवार त्यस्तै भयो । किरात याक्थुङ चुम्लुङको ‘चासोक तङनाम’ उद्घाटन समारोहमा भाषण गरेपछि ‘एउटा गीत गाउँ होला’ भन्दै गीत गाउन थाले । उनले गाएका गीतमा उनी फेसबुक र टिकटक लाइभमा अबेर रात सम्म किन गीत गाउँछन् भन्ने कुरा खुलासाको भाव थियो ।

अर्थात् मेयर साम्पाङलाई राती निन्द्रा लाग्दैन, त्यसैले उनी गिटार लिएर बस्छन् अनि गीत गाउन थाल्छन् । सपनामा सहिद आएर उनलाई भेट्छन् र बलिदान दिएको हिसाब खोज्दछन् त्यसैले उनलाई निन्द्रा लाग्दैन भन्ने सन्देश गीतले दिएको थियो ।

Chumling mayar programउनको गीत यस्तो छ :

निन्द्रा लाग्दैन मलाई निन्द्रा लाग्दैन, सपनी हजारौँ सहिद आई भेट्छन्

खोइ त त्यो नेपाल जसको निम्ति हामीले आहुती दियौँ 

आफ्नो ज्यानको बलिदान गरेर,

१७ हजार सहिद आएर बिहानी पख ३ बजे देखि सोध्छन् मलाई 

खोइ त तहिले (तैंले) देशका लागि केही गरेको भनेर प्रश्न सोध्छन् मलाई ।

च्याब्रुङ बचाएर चासोकको उद्घाटन गरेका मेयर सम्पाङको गीतले उनलाई निन्द्रा लाग्दैन भन्ने सन्देश सँगै यति धेरै सहिद बनाउने जनयुद्ध लडेको पाटी अहिले राज्य सत्तामा पुगे पनि केही गर्न सकिरहेको छैन भनी ‘सहिदहरू’ले प्रश्न गरिरहेको सन्देश पनि दिएको बुझिन्छ ।

‘कोशी’ नाम खारेजीको आन्दोलनकै रूपमा सुरु भएका ५ दिने चासोक उत्सव उद्घाटन अघि च्याब्रुङ, लिम्बु पहिरनको झाकी सहितको र्‍यालीले धरान बजार परिक्रमा गरेको थियो ।

समारोहमा राष्ट्रिय चुम्लुङ सदस्य ताजुब लिम्बुले लिम्बू समुदायका लागि बेग्लै विद्यालय बनाउन स्थानीय सरकारलाई सुझाएका थिए । उनले धरान आदिवासी जनजाति मध्येको लिम्बू जातिको मुख्य थाक थलो भएकाले विजयपुर दरबारलाई संरक्षण गर्दै लिम्बू सङ्ग्रहालय विकास गर्नुपर्ने बताए ।

केन्द्रीय उपमहासचिव डा. योगेन्द्र पालुङ्वा, पूर्व केन्द्रीय अध्यक्ष उत्तमसिंह थाङदेन, सल्लाहकार दुर्गामाया लिम्बुले चुम्लुङ अहिले ‘कोशी’ नाम खारेजीका आन्दोलनमा होमिएकाले सबैलाई त्यसमा सक्रिय सहभागी हुन आव्हान गरे ।

चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाको सभापतित्वमा भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य   उपाध्यक्ष ललिता नेम्वाङले गरेकी थिइन् । सञ्चालन नगर सचिव बालकृण लिम्बुले गरेका थिए ।

प्रचार संयोजक स्वर्णिमहाङ फोम्बोका अनुसार उत्सवमा जातीय पहिरनका साथ परम्परागत खेलहरू लिआमा गुलेली हान्ने, ‘पक्लुङ लेप्मा छेलो हान्ने, माछा मार्ने, तोङ आमा तिरबाजी, हक्चुम लक्मा लङ्जम्प खेलहरू हुनेछन् ।

सामूहिक रूपमा केलाङ च्याब्रुङ नृत्य, पालाम धाननाच, ख्याली, प्रौढ, वृद्धवृद्धाहरु मुन्धुमी साम्लो, हाक्पारे, ख्याली आदि मनोरञ्जन कार्यक्रमहरू रहेका छन् । यसअघि सोमवार साँझ साम्बा/येबाहरुबाट एकराते ‘तङसिङ’ पारिवारिक मेलमिलापको अनुष्ठान सम्पन्न गरिएको उनले बताए ।