इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने विषयमा नेकपा एमालेका केही नेताहरूले फण्डा गरेको आरोप लगाएका छन् ।

आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गर्दै मेयर पौडेलले एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाएका छन् । एउटा सहमति गर्ने र अर्कै कुरा फेरेर एमालेले नाटक मंन्चन गरिरहेको समेत मेयर पौडेलले आरोप लगाएका छन् । बुधवार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको बताएका हुन् । इटहरीको विकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौडेलले छिनछिनमा कुरा फेरेर एमालेले कर घटाउने विषयलाई फण्डाको रूपमा मात्र बजारमा ल्याएको बताए । 

नगरप्रमुख पौडेलले कार्यपालिकामा बहुमत सदस्य रहेको एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनुचित दबाबले काम गर्न नसकिएको आरोप समेत लगाए । राजस्व, शुल्क तथा जरिवाना घटाउनुपर्ने माग राख्दै आएका एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बुधवारको नगरसभामा सो विषयमा छलफल हुने कार्यपालिका थियो । तर पार्टीको ह्विपमा उनीहरूले नगरसभा बैठक अवरुद्ध गर्न खोजेको नगरप्रमुख पौडेलले आरोप लगाए ।

कार्यपालिका र नगरसभामा पर्याप्त छलफल गरेर कर तथा राजश्व बढाउने प्रस्ताव पास गरिएको विषयलाई लिएर एमालेले बारम्बार दोहोरो चरित्र देखाउँदै विरोध गर्नुको कुनै औचित्य नरहेको नगरप्रमुख पौडेलको भनाई छ । 'हामी कर घटाउने पक्षमा छौ बारम्बार भन्दै आएका छौ । तर एमालेले भने अहिले सम्म दोहोरो चरित्र मात्र देखाएको छ', पौडेलले भने ।

'इटहरीको विकास गर्न चुनिएको जनप्रतिनिधिहरूलाई एमालेले आफ्नो सङ्गठन चलाउन खोजे जस्तो गरिरहेका छन्', मेयर पौडेलले भने । 'म जनताबाट निर्वाचित जनप्रतिनिधि हुँ म इटहरी बनाउन आएको मानिस हुँ', मेयर पौडेलले थपे । इटहरीमा थुप्रै खाले कठिनाइ भइरहेको भन्दै एमालेले जनमानसमा भ्रम छरिरहेको उनको भनाई थियो । एमालेलाई इटहरी बनोस् नबनोस् भन्नेमा छ । उसलाई २०८४ को चुनाव केन्द्रित मात्र छन् उनको भनाई थियो ।

सबैसँग सहमति र सहकार्य गरेर सरकार चलाउने बताएका छन् । ‘सस्तो लोकप्रियताका लागि हुने धेरै राजनीतिक नाटक हेरेर, सुनेर बसेँ। नगर प्रमुख भएर धेरै कति बोलौँ? राम्रो काम गर्न नदिने एमालेले जनतामा भ्रमको पर्दा राखेर बस्ने दल र त्यसपछाडिका पात्रको भूमिकाबारे पर्दा च्यात्ने बेला भएको उनले उल्लेख गरेका छन् ।

इटहरी उपमहानगर कार्यपालिकामा ३० जना कार्यपालिका सदस्यमध्ये उपप्रमुख सहित २४ जना एमालेबाट निर्वाचित सदस्य छन् भने प्रमुख सहित ६ जना नेपाली काँग्रेसबाट निर्वाचित सदस्य छन् । यस्तै १०४ जना नगरसभा सदस्यमध्ये ८३ जना एमालेबाट निर्वाचित रहेका छन् भने २१ जना मात्र नेपाली काँग्रेसबाट निर्वाचित सदस्य रहेका छन् ।