धरान : तेस्रो अशोक बास्फोर बास्केटबल प्रतियोगिताको उपाधि इमोर्टल क्लबले चुमेको छ । शनिवार भएको फाइनल खेलमा इमोर्टलले ब्रर्दश क्लबलाई ७५-७१ अङ्कको झिनो अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो ।

प्रतिस्पर्धात्मक फाइनल खेलको पहिलो क्वाटरमा इमोर्टलले १९-११ अङ्कको अन्तर बनाउँदै खेल अघि बढेको थियो । दोस्रो क्वाटरमा ब्रर्दश खेलमा फर्कँदै २५-१४ को अग्रता बनाएको थियो ।

मध्यान्तर सम्ममा ३६-३३ अङ्कले बनाएको अग्रतालाई तेस्रो क्वाटरमा भने इमोर्टलले ब्रर्दश विरुद्ध २४-१६ अङ्कले तोडेको थियो । चौथो क्वाटरमा ब्रर्दशले १९-१८ अङ्कको अग्रता लिए पनि उपाधिका लागि पर्याप्त भएन ।

यूथ क्लबको आयोजनामा आयोजित प्रतियोगितामा इमोर्टलले उपाधि सङ्गै नगद ६० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उपबिजेता ब्रर्दशले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी इमोर्टलका निकेस मगर घोषित भए । उनले नगद ७ हजार, ट्रफी, बल, प्रमाणपत्र र १ हजार रुपैयाँ बराबरको फुड भौचर प्राप्त गरे । फाइनल खेलका म्यान अफ द म्याच ब्रर्दशका सर्बोधन राई घोषित भए उनले नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

उदयिमान खेलाडीको उपाधि इमोर्टलका  प्रतीक राई घोषित भए । उनले ट्रफी, प्रमाणपत्र र एकथान बास्केटबल प्राप्त गरे । उनीहरूलाई समापनका सभापति सन्तोष बास्फोर, प्रमुख अतिथि धरान उपमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघा, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी, बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई, प्रतियोगिता संयोजक रवि बास्फोरले पुरस्कार वितरण गरेका थिए ।