धरान : प्रदेश न। १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले इलाममा पक्राउ गरिएको पहिचानवादी नेता बुलेट किराँती अञ्जेश राईको तत्काल रिहाइको माग गर्दै पुस १८ र १९ गते मेची राजमार्ग बन्दको आव्हान गरेको छ ।

समितिले आज आइतबार प्रेस विज्ञप्ति जारी गर्दै राजमार्ग बन्दको आव्हान गरेको हो । बुलेटलाई मङ्सिर ३० र पुस १ गते कोसी प्रदेश बन्दको बेला इलाममा पराल बोके गाडीमा आगो लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । उनी अहिले पशुपतिनगर थानाको हिरासतमा छन् ।

वक्तव्यमा भनिएको छ, ‘यातायात बन्दको अवधिमा आन्दोलनलाई बदनाम गर्ने बदनियतले इलाम जिल्लामा पराल बोकेको गाडीमा अज्ञात समूहले गरेको आगजनीमा झापा जिल्ला सङ्घर्ष समितिका पहिचानवादी युवा नेता बुलेट किराँतीलाई झुटो आरोप लगाई पक्राउ गरी इलामको पशुपतिनगर थानामा प्रशासनले थुनेर मुद्दा चलाइरहेको छ ।’

उक्त घटना घटेको लगत्तै सङ्घर्ष समितिले विज्ञप्ति प्रकाशित गरी त्यस आगजनीको घटनामा सङ्घर्ष समितिको कुनै संलग्नता नभएको स्पष्ट गरिसकेको उल्लेख गर्दै वक्तव्यमा यातायात बन्दमा झापाको मान्छे इलाममा गएर गाडी आगजनी गर्ने कुरा सोच्नसम्म पनि नसकिने भएकोले बुलेट किराँती अन्जेश राई निर्दोष छन् र उनलाई तत्काल रिहाइ गरियोस् भनी पटकपटक प्रशासन आग्रह समेत गरेको बताइएको छ ।

तर प्रशासनले बुलेट किराँतीलाई रिहाइ गर्नुको सट्टा झुटो मुद्दा हालेर सडाउने षडयन्त्र गरेकोले रिहाइका लागि पुस १८ र १९ गते मेची राजमार्ग यातायात बन्द गर्न बाध्य भएको जानकारी गराउँदै वक्तव्यमा यस दुई दिने मेची राजमार्ग बन्दलाई सफल बनाउन सहयोग गरिदिन सम्बन्धित सबैमा हार्दिक आह्वान गरिएको छ ।

bullet kirati rihai bigyapti