वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ मा रहेको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्र मन्दिर स्थित कोकाह कौशिकीको सङ्गममा पौष २५ गतेदेखि २७ गतेसम्म ३ दिन श्राद्ध मेला आयोजना हुने भएको छ ।

धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार आदि श्राद्ध स्थलको रूपमा रहेको कोकाह कौशिकीको सङ्गममा वराहक्षेत्र संरक्षण मञ्च, वराह दर्शन फाउण्डेशन लगायतका धार्मिक सङ्घ, संस्थाहरूको संयोजनमा श्राद्ध मेला आयोजना हुन लागेको संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठले जानकारी दिए ।

सत्ययुगमा भगवान् विष्णुले सन्तान नभएका अर्यामादि ऋषिको मोक्षका लागि कोकाहमा पहिलो पटक श्राद्ध गरेपछि संसारमा श्राद्ध परम्परा सुरु भयो किंवदन्ती रहेको उनी बताउँछन् ।

वराहक्षेत्रका सेवक पण्डित योगेश भण्डारीका अनुसार वराह पुराण तथा स्कन्द पुराणमा वराहक्षेत्रधाम संसारको आदि श्राद्ध स्थलको रूपमा व्याख्या गरिएको छ ।

वराहक्षेत्र स्थित कोकाह कौशिकीमा पितृहरूको नाममा श्राद्ध गर्नाले एकातिर पितृको समेत उद्धार हुने र अर्कोतिर पितृको आशीर्वादले आफू र आफ्नो परिवारको पनि कल्याण हुने गर्दछ । पितृ खुसी भए परिवारमा सुख शान्ति समृद्धि आरोग्य एवं ऐश्वर्य वृद्धि हुन्छ भन्ने कुराको वराह पुराणहरूमा उल्लेख छ । पौष २५ देखि ३ दिन आयोजना हुने श्राद्ध मेलामा हजारौँ श्रद्धालु भक्तजनहरू आउने वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठ बताउँछन् ।