धरान : नेपाली काँग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिले नेपालमा प्रजातन्त्र पूनः प्राप्तिको बाटो खोलेको धरानमा आज सोमवार आयोजित राष्ट्रिय मेलमिलाप दिवसका सहभागीहरूले बताएका छन् ।

२०१७ सालमा राज महेन्द्रले ‘कू’ गरी पञ्चायती शासन लागु गरेपछि लामो समय भारतमा निर्वासित जीवन बिताएर वीपी २०३३ पुष १६ गते राष्ट्रिय मेलमिलापको नीति घोषणा गर्दै स्वदेश फर्किएका थिए । सोही दिनलाई काँग्रेसले राष्ट्रिय मेलमिलाप दिवसको रूपमा मनाउँदै आएको छ ।

वीपी चिन्तन प्रतिष्ठानद्वारा आयोजित अन्तरकृयामा अध्यक्ष डा.आनन्द आचार्यले भने ‘वीपीको त्यही राष्ट्रिय मेलमिलापको नीतिले अन्ततः राजतन्त्रात्मक पञ्चायती व्यवस्था समाप्त गरी प्रजातन्त्र पूनःप्राप्तीको बाटो खोल्यो ।’

प्रजातन्त्र पूनः प्राप्तिका लागि राजासँग सशस्त्र सङ्घर्ष सम्म उत्रिएका वीपीले राष्ट्रियता बचाउन पूनः ‘राजासँग मेरो गर्दन जोडिएको छ’ भनी राष्ट्रिय मेलमिलापको नीतिको घोषणा गर्दै ‘फाँसी दिए पनि’ तयार भई नेपाल फर्किएका थिए ।

उनले भने ‘वीपी नेपाल फर्किएपछि लोकतान्त्रिक आन्दोलनको मनोबल बढायो, २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा भयो, २०४६ सालको जनआन्दोलन र गणतन्त्र सम्मको यात्रा त्यसैको पृष्ठभूमिका भएको हो ।’

प्रजातान्त्रिक विचार समाजमा अध्यक्ष यामनाथ बरालले तत्कालीन अन्तर्राष्ट्रिय परिस्थितिमा भारतकी इन्दिरा गान्धीको विस्तारवादी महत्त्वाकाङ्क्षाबाट नेपाललाई बचाउन वीपीले राष्ट्रिय मेलमिलापको नीति अपनाएको बताए ।

पूर्व प्रदेश प्रमुख प्राडा.गोविन्दबहादुर तुम्बाहाङले राजनीतिक दलहरूले ठ्रलो सङ्घर्ष गरी ल्याएको प्रजातन्त्र देखी गणतन्त्र सम्म आइपुग्दा देश भ्रष्टाचारमा चुर्लुम्म डुब्नु बडो दुःखद भएको बताउँदै भने ‘समान अवसर नपाउँदा बिदेसिने युवाहरूमा राष्ट्रियताका भावना हराउँदै गएको पाउनु अझ दुर्भाग्यपूर्ण अवस्थामा देश गुज्रिरहेको छ ।’

अन्तरकृयामा नेपाली काँग्रेस सुनसरी-१ का सभापति सुजेन्द्र तामाङले पार्टी गुटबन्दीबाट मुक्त हुन नसक्नु दुर्भाग्यपूण भएको बताए । उनले भने ‘पार्टीमा निःस्वार्थ भावनाले काम गर्दा पनि गुटबन्दीको दृष्टिले हेर्ने प्रवृत्तिको सामना गर्नु थप दुःखद अवस्था छ ।’ तथापि नेतृत्व तहमा रहेकाले पार्टीका इमानदार, प्रतिबद्ध साथीहरूलाई अवसर प्रदान गर्न पक्षपात नगरेको बताए ।

धरान उपमहानगर सभापति श्याम पोखरेलले काँग्रेसले अवसर दिएका अगुवाहरूले काम गर्दा व्यक्तिको नाममा जस लिने पार्टीको नाम नजोड्ने गरेकाले पार्टीका पदाधिकारीहरूले गुनासो बाहेक केही नपाउने बताए ।

उनले भने ‘काँग्रेसले धरानबाट धेरैलाई केन्द्रीय सदस्य, सांसद लगायत ठाउँमा अवसर दिएको छ, तर उहाँहरूले गरेको कामको जस कार्यकर्ता, सर्वसाधारणले पार्टीलाई दिँदैन ।’

सभापति पोखरेलले धरानमा पार्टीको रणनीति बनाउन सबै भातृ सङ्गठनहरू, वडा समितिहरू र व्यक्तिगत रूपमा कार्यकर्ताको घर घर पुगेर पनि छलफल अन्तरक्रिया गरी गुनासो सुन्ने, सुझाव लिने कार्य भइरहेको बताए ।

अन्तरकृयामा श्यामा रेग्मी, भीष्म काफ्ले, गोकुलप्रसाद श्रेष्ठ, पुष्पराज ढकाल लगायतले आ-आफ्ना धारणा व्यक्त गरेका थिए । कार्यक्रम काँग्रेस क्षेत्रीय पार्टी कार्यालयमा भएको हो ।

यसअघि बिहान राष्ट्रिय मेलमिलाप दिवसकै अवसरमा वीपी कोइराला अनुसन्धान प्रतिष्ठानको आयोजनामा धरान-१३ स्थित वीपी पार्क स्थित वीपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष विश्वराज शर्माको सभापतित्वमा भएको थियो ।

melmilap-diwanBP-chintan-Pratisthan