धरान : धरान उपमहानगरपालिकाको कार्यपालिका सदस्य विकास भाटीद्वारा पत्रकार रश्मि प्रधानको मोबाइल खोस्न हातपात गरेका छन् । प्रधान ‘कपुरी न्युज’मा आबद्ध छिन भने उनी पत्रकार नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य समेत हुन ।

धरान उपमहानगरपालिकाले पब्लिक हाई स्कुल मैदानमा आयोजना हुने ‘धरान डे' मेलाका लागि टेण्ट हाउले पण्डालको स्टल बनाउँदै छ । सोमवार दिउँसो 'धरान डे' स्थलको समाचार सङ्कलन गर्न पत्रकार प्रधान हाइस्कुल मैदान पुगेकी थिइन् ।

स्टलहरू बनाई रहेको ठाउँमा वादविवाद झगडा भइरहेको देखिएपछि पत्रकार प्रधान त्यहाँ के भएको भनी हेर्न पुगेकी थिइन् । त्यहाँ रहेका धरान उपमहानगरपालिका कार्यपालिका सदस्य विकाश भाटी गाली गलौजको भाषामा कसैसँग झगडा गरिरहेका थिए ।

त्यही बेला पत्रकार प्रधान त्यहाँ पुगेको विकास भाटीले देख्ने बित्तिकै ‘तैंले भिडियो खिचेको ?’ भन्दै एक्कासि हातपात गर्दै मोबाइल खोसेर अश्लील गाली गलौज गरेको पत्रकार प्रधानले बताइन । कार्यपालिकाको सदस्य जस्तो पदमा रहेका व्यक्तिको यस्तो व्यवहार अक्षम्य छ।

यसबारे ‘कपुरी न्युज’ले पत्रकार महासङ्घका सुनसरी जिल्ला सचिव ध्रुव ढकाललाई तत्काल फोनद्वारा जानकारी गराउँदै कार्यपालिका सदस्य जस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको उद्दण्ड व्यवहारको लागि उचित कारबाही गर्न माग गरेको छ । सचिव ढकालले घटना बारे इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरीमा तत्काल मौखिक उजुरी दिइएको बताए ।

पत्रकार प्रधानले भोलि मङ्गलवार कार्यालय समयमा इलाका प्रहरी कार्यालयमा कानुनी कारबाहीका लागी उजुरी दिने बताइन ।

धरान डे मेलाका लागि जिम्मेवारी दिएको कार्यपालिका सदस्य विकास भाटीलाई धरान उपमहानगरपालिकाले महिला पत्रकार माथि हातपात गरेकोमा आवश्यक प्रहरी कारबाही गरी महिलासँग हुने लैङ्गिक हिंसाबाट सुरक्षा गर्न माग गर्दै ‘कपुरी न्युज’ घट्नाको घोर भर्त्सना गर्दछ ।