वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले वडा नं.३ स्थित भानुटोलमा रहेको आधारभूत स्वास्थ्य चौकीमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ। नगरपालिका कार्यालयले रामलाल गोल्छा आँखा अस्पताल विराटनगरसँग सहकार्य गरेर उक्त शिविर आयोजना गरेको हो ।

नगरपालिकाका सामाजिक शाखाका प्रमुख अरुण मेहताका अनुसार १८३ जना सेवाग्राहीहरूले शिविरमा आएर सेवा लिएका थिए । ती मध्ये ४३ जनाको आँखामा मोतिया बिन्दु रोग पहिचान भएको छ ।

उनीहरूको निःशुल्क शल्यक्रिया गरिने र अप्रेसनको लागि आज नै ३३ जनालाई अस्पताल लगिएको छ । बाँकी १० जना प्रेसर, सुगर र मुटुको समस्या भएकाहरू तथा पारिवारिक कारणले आज जान नसकेको र उनीहरूको पनि निःशुल्क शल्यक्रिया गरिने मेहताले जानकारी दिए ।

शिविरमा रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका दृष्टि विज्ञ डाक्टर एवम् स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए ।

नगरपालिकाले यस अगाडि वडा नं. ६ कोशीपारी श्रीलङ्का टप्पुमा र वडा नं. ४ धनपुरीमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरेको थियो ।