इटहरी : नेपाली काँग्रेसको वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले विभिन्न काण्डमा बच्नको लागि नेकपा एमाले सँग राष्ट्रिय सभामा भागबण्डा भएको बताएका छन् ।

बिहीबार सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै उनले राष्ट्रिय सभा निर्वाचनमा एमाले सहितको सत्तारुढ गठबन्धनको एकताले राम्रो सङ्केत नगरेको बताए ।

बेपत्ता छानबिन तथा सत्य निरूपण विधेयकलाई टुङ्गो लगाउन एमालेलाई भाग दिने तयारी भएको उनले प्रस्ट पारेका छन् । ‘टिआरसीका सम्बन्धमा सर्वोच्च अदालतको गम्भीर प्रकृतिका मुद्दामा क्षमा दिन नहुने निर्देशनात्मक आदेश र मानव आधिकारका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको अधीनमा रहेर द्वन्द्वबाट पीडितहरूले पर्याप्त क्षतिपूर्ति पाउने गरी मात्र विधेयक आउन पर्ने कुरामा स्पष्ट हुनु जरुरी छ,’ उनले भनेका छन् ।

ठुलादलहरूले अदालतको आदेशको अवज्ञा गर्दै विधेयक पास गराउन खोजेको उनले आशङ्का गरेका छन् । कोशी प्रदेशमा एमाले सहितको सरकार गठन हुँदा गठबन्धन धरापमा परेको भन्दै रोइलो गर्नेहरूनै अहिले एमाले सँग मिल्न गएको डा. कोइरालाले बताए । एमालेलाई संसदीय समितिमा तीन सभापति दिने दिनबाटै टिआरसी विधेयक र राष्ट्रिय सभाको भागबण्डा सुरु भएको उनको टिप्पणी छ ।

उनले एमाले प्रति लक्षित गर्दै प्रश्न गरेका छन्, ‘अनि एमाले, एक-दुई सिटका लागि जे पनि हस् ? यदि यसो हैन भने केन्द्र र सबै प्रदेशमा एमाले पनि सरकारमा आए भैगो । किन बाहिर बसेर केही पदका लागि बार्गेनिङ गर्नु ?’

संसदीय समितिका तीन सभापति र राष्ट्रिय सभाका दुई तीन सिट पाएपछि प्रमुख प्रतिपक्षले राष्ट्रिय मुद्दामा आँखा चिम्लनु झनै दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।