वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको प्रतिष्ठित सहकारी संस्था मध्यको एक औलिया बाबा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः रमेश कुमार विष्ट चयन भएका छन् ।

निर्वाचन समितिका संयोजक डम्बर प्रसाद सिग्देलका अनुसार अध्यक्षमा विष्ट सहित उपाध्यक्षमा दिपेशजंग बस्नेत (सोमराज) सर्वसम्मत चयन भएका छन् । त्यस्तै सचिवमा कृष्ण प्रसाद कट्टेल, कार्यसमितिको सदस्यमा राजु कार्की, ईश्वर भगत श्रेष्ठ, पुष्पदिप पौडेल, कल्पना शाक्य, दिल कुमारी श्रेष्ठ र सरिता विष्ट खड्का चयन भएका छन् ।

लेखा समिति संयोजकमा शान्तिराम खतिवडा र प्रदीप श्रेष्ठ चयन भएका छन् । शनिवार सहकारीले १४ औँ वार्षिक साधारण सभा मार्फत नयाँ कार्य समिति चयन गरेको थियो ।

२०६६ सालमा स्थापना भएको सहकारीले शनिवार शेयर सदस्य, बचतकर्ता, सरोकारवालाहरूको उपस्थितिमा १४ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

साधारण सभामा संस्थाका अध्यक्ष रमेश कुमार विष्टले सहकारीको वार्षिक प्रगति विवरण र भावी योजना प्रस्तुत गरेका थिए भने लेखा समिति संयोजक शान्तिराम खतिवडाले सुझाव सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सहकारीले 'प्लस टु'को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क हासिल गरेका सेयर सदस्यका छोराछोरी अनीश धिमाल र जिया श्रेष्ठलाई नगद ५/५ हजारले पुरस्कृत गरिएको थियो । यस्तै असल कारोबार गर्ने महिलातर्फ पुर्णशोभा बज्राचार्य र पुरुषतर्फ भीम बहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो ।

सभामा उपस्थितलाई उपाध्यक्ष दिपेशजंग बस्नेतले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव कृष्णप्रसाद कट्टेलले गरेका थिए। संस्थामा २ सय २९ महिला र २ सय ६१ पुरुषसहित ४ सय ९० जना सेयर सदस्य रहेका छन् ।