धरान : चलचित्र, सांस्कृतिक अभियानकर्मी सागर केरुङको अध्यक्षतामा लिम्बु सांस्कृतिक परिषद्को १५ सदस्यि केन्द्रीय कार्यसमिति निर्वाचित गर्दै बुधवार साँझ चौथो महाधिवेशन सम्पन्न भएको छ ।

परिषद् किरात याक्थुङ चुम्लुङ सम्बद्ध संस्कृति सम्बन्धि स्वायत्त सङ्गठन हो । अध्यक्ष निर्वाचित केरुङ निवर्तमान कार्यसमितिमा उपाध्यक्ष थिए ।

कार्यसमितिको उपाध्यक्षद्वयमा भवानी विक्रम सम्बाहाम्फे, कुमार हुक्पा चोङवाङ, महासचिव कञ्चन थलङ, कोषाध्यक्षमा उदय बेघा सर्वसम्मत चयन भएका छन् ।

सदस्यहरूमा दिलु सुब्बा, चइनध्वोज फोम्वो, डीआर हाङ्सरुम्बा, बबिन आङ्देम्बे, बौधमान हुक्पाचोङवाङ र डिक बहादुर थोक्लेन रहेका छन् ।

विधान अनुसार केही पदाधिकारी र सदस्यहरू कार्यसमितिको बैठकले मनोनीत गर्ने महाधिवेशनले म्याण्डेड दिएको छ ।

धरान-१५ चुम्लुङ हिममा बुधवार भएको महाधिवेशन उद्घाटन बुधवार बिहान किरात याक्थुङ चुम्लुङ केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले गरेका थिए । समारोहको सभापतित्व निवर्तमान अध्यक्ष गोविन्द आङबुङले गरेका थिए ।