विराटनगर : काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारु संस्कृति गौरवको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारु कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जू माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारु संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् ।

'थारु संस्कृतिलाई गौरवपूर्ण बनाऔँ र यसको अन्तर्राष्ट्रियकरण गरौँ,` उनले भने, ´थारु संस्कृति यो प्रदेशको ठुलो सम्पत्ति हो, यसलाई मास्न दिनुहुँदैन ।` थारु समुदायको घरको भित्तामा महिलाहरूले बनाउने चित्र सम्पत्ति भएकोले त्यसलाई मासिन नहुने मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन् ।

'थारु संस्कृति, समाजको कथा र व्यथा झल्किने भित्ता भएको घरलाई थारु होमस्टे बनाएर बाहिरबाट आएका मान्छेलाई मेजवानी राखौँ,` उनले भने, 'हाेमस्टेमा आउने पाहुनालाई थारु परिकार, नृत्य, गीत, कथा, कहानी, गाैरवमय इतिहास सुनाउनुका साथै चित्रकला, थारुको ग्राम थानलगायतका संस्कृतिको अध्ययन गराउनु पर्छ जसले थारु संस्कृतिका साथै प्रदेश र देशको गौरव बढाउँछ ।'

प्रदेश सरकारले सम्पूर्ण थारु, राजवंशी लगायतका आदिवासी, जनजाति, अल्पसङ्ख्यकको भाषा, संस्कृति संरक्षण, सम्बर्धन, अध्ययन, अनुसन्धान र विकासका लागि फाल्गुनन्द भाषा, संस्कृति अध्ययन प्रतिष्ठान गठनका लागि बजेट विनियोजन गरेर काम अघि बढाएको उनले बताएका हुन् ।

महाभारतकालकाे पौराणिक इतिहास बोकेको बर्जू पछि परेकोले प्रदेश सरकारले विराटनगरसँग जोडेर सहरको रूपमा विकास गर्न केसलीयाकाे दुवै किनारमा सडक निर्माण गर्न गइरहेको मुख्यमन्त्री कार्कीले बताएका छन् ।