काठमाडौँ : नेपालका बैङ्कहरूले शेयर र जग्गामा बढाएको लगानीले प्रतिफल नदिँदा अर्थतन्त्र समस्या आएको अर्थमन्त्री डा.प्रकाशशरण महतले बताएका छन् । 

हिजोको दिनमा शेयर बजार र घर जग्गामा ऋण लिनेहरू अहिले उल्टै समस्यामा परेको बताउँदै मन्त्री महतले भने, ‘व्याज बढ्यो लगानीले प्रतिफल नदिए ऋण लिनेहरू समस्यामा परेका छन् ।’

मुलुकमा आवश्यकता धेरै, स्रोत साधन निकै कम भएकोले खर्चको प्राथमिकिकरण गर्न आवश्यक छ, राज्यको स्रोत साधनलाई बढीभन्दा बढी प्रतिफल दिने क्षेत्रमा लगानी गर्न राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा अर्थमन्त्री महतले बैङ्कहरूलाई ध्यानाकर्षण गराएका हुन् ।

बैङ्क तथा वित्तीय संस्थाले घरजग्गा धितो राखेर कर्जा दिनुको सट्टा आयोजनालाई धितो मानेर कर्जा दिने प्रवृत्तिको विकास गरिनुपर्नेमा उनले जोड दिए । सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको मन्त्रीको भनाइ थियो ।

उनले बैङ्कहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताउँदै ‘ख’ वर्गका बैङ्कहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्नेमा जोड दिए । बैङ्कहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्यामा परेको मन्त्री महतको भनाई थियो ।

उनले हिजो बैङ्कबाट गएको पैसा गलत ठाउँमा गएकोमा राष्ट्र बैङ्कले कन्ट्रोल गरेर अहिले केही सुधार भएको बताए । पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा बिस्तारै मनोबल उकासिँदै गएको मन्त्री महतले दाबी गरे ।