धरान : छिमेकी मुलुक भारतमा आज शुक्रवार ७५ औँ गणतन्त्र दिवस मनाइँदै छ। प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले गणतन्त्र दिवसको मुलनारा 'विकसित भारत र भारत लोकतन्त्रको मातृका' घोषित गरेको छ ।
राजधानी दिल्लीमा आयोजना हुने मुख्य गणतन्त्र समारोहमा यसापाली भारत प्रमुख अतिथिको रूपमा फ्रान्सका राष्ट्रपति इम्यानुएल मैक्रोलाई बनाएका छन् । राष्ट्रपति मैक्रो हिजै भारत आइसकेका छन् ।
फ्रान्सेली राष्ट्रपति मैक्रोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ हिजै भारतको ऐतिहासिक महानगर जयपुरको अवलोकन गरे । 'रोड शो' को रूपमा भएको अवलोकन कार्यक्रमको क्रममा जयपुरको हवा महल, जन्तर मन्तर रोडमा राष्ट्रपतिलाई चिया पसलमा मसाला चियापान गराइयो ।
जयपुरमा भारतीय प्रधानमन्त्री मोदीले स्थानीय पसलमा अयोध्यामा भर्खरै उद्घाटन गरिएको राम मन्दिरको रेप्लिका ५०० रुपैयाँमा किनेर राष्ट्रपति मैक्रोलाई उपहार स्वरूप प्रदान गरेका थिए ।
यसैबिच धरान स्थित भारतीय राजदूतावास पेन्सन वितरण कार्यालयमा भारतीय ७५ ओं गणतन्त्र दिवसको अवसरमा भारतको राष्ट्रिय झण्डोत्तलन कार्यक्रम आयोजना गरिएको छ । सो अवसरमा कार्यालयले चियापान कार्यक्रम पनि राखेको छ ।