धरान : ब्राउनसुगरको मुद्दामा पक्राउ परेका एक अभियुक्तलाई हिरासतबाट भगाएर अभियुक्त साथै फरार भएका प्रहरी जवान वीरवल राय यादवलाई १६ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको पथरावुधराम-३ का फरार प्रहरी जवान यादवलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

खैरो हेरोइन मुद्दाको अनुसन्धानमा महानगरीय प्रहरी परिसरको हिरासतमा रहेका भारतीय नागरिक ३९ वर्षका असरफ आलमलाई २०६४ जेष्ठ ९ गते राती प्रहरी जवान यादवले हिरासतबाट आफू सहित भगाएका थिए ।

आलमलाई भगाउन यादवले नक्कली चिट बनाई आफैँले फिल्ड अधिकृतको कीर्ते दस्तखत गरी ‘इन्स्पेक्टर सावले बोलाउनुभएको’ भनी हतकडी समेत लगाएर बाहिर निकाली दुवैजना फरार भएको डिएसपी अनिल घिमिरे बताए ।

उनका अनुसार थुनादेखी भगाउन आलम र यादव बिच बार्गेनिङ भई १ करोडबाट १० लाख रुपयामा सेटिङ भएको बुझिएको थियो । डिएसपी घिमिरेले भने, ‘आलमलाई हिरासतबाट बाहिर निकाले बापत यादवलाई ६ लाख २५ हजार दिएको अनुसन्धानबाट खुलेको छ ।’

त्यसयता, यादव लामो समय भारतको कोलकत्तामा श्रीमती सहित बसोबास गर्दै आएका थिए । डिएसपी घिमिरेका अनुसार कोलकत्तामा उनले दुईवटा ट्याक्सी खरिद गरेर चलाउँदै आएका थिए । अहिले उनीसँग ९ वटा ट्याक्सी रहेको खुलेको डिएसपी घिमिरेले बताए ।

यादवको साथमा भारतको आधार कार्ड, भोटर कार्ड र ड्राइभिङ लाइसेन्स समेत रहेको पाइएको छ । यादवलाई नेपाल-भारत सीमा काँकडभिट्टाबाट पक्राउ गरिएको हो ।