धरान : हिसान सुनसरीको खेलकुद सप्ताहको पहिलो दिन आइतबार इटहरीमा भएको ५ किलोमिटर दौडमा छात्रतर्फ धरान मेघा हिमालयन कलेज र छात्रातर्फ कोशी सेन्टजेम्स स्कुल प्रथम भएका छन् ।

दौडमा मेघाका संयोगहाङ राईले निर्धारित दुरी १४ मिनेट ३९ सेकेन्डमा पुरा गरेर प्रथम भएका छन् ।  एम्स एकेडेमी धरानका प्रताप राई १५ मिनेट ६ सेकेन्डमा दुरी पार गर्दै दोस्रो भए । सुनाखरी एकेडेमीका उज्वल राईले १५ मिनेट १९ सेकेन्डमा दुरी पार गर्दै तेस्रो भए ।

छात्राहरूको दौडमा कोशी सेन्टजेम्सकी आयुसा प्रधानले २० मिनेट २२ सेकेन्डमा निर्धारित दुरी पार गरी प्रथम भइन् । धरान मेघा कलेजकी सुभेक्षा राई दोस्रो र सीबी कलेज इटहरीकी तुलसा खड्का तेस्रो भए । राईले निर्धारित दुरी २० मिनेट ४० सेकेन्ड र खड्काले २४ मिनेट १५ सेकेन्डमा पुरा गरेकी थिइन् ।

प्रथम हुने धावक धाविकालाई नगद १० हजार, द्वितीयलाई ५ हजार र तेस्रोलाई ३ हजार नगद पुरस्कार प्रदान गरियो । हिसान स्पोर्टस् मिट २०८० नेपाल उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ सुनसरीले आयोजना गरेको हो ।

यसैगरी ५ किलोमिटर दौडमा नमुना कलेजका सरोज सिंहले निर्धारित दुरी १४ मिनेट १० सेकेन्डमा पुरा गरेर प्रथम भए । सुनाखरी एकेडेमीका रोदन राईले १४ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै दोस्रो भए । धरान उच्चका अर्जुन कुमार राईले १४ मिनेट ३६ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो भए ।

धरान रनको प्राविधिक सहयोगमा आइतबार भएको दौड प्रतियोगीताका विजयी धावक धाविकालाई हिसानका केन्द्रीय सल्लाकार लेखनाथ घिमिरे, केन्द्रीय सदस्य मुकुन्द घिमिरे, सुनसरी अध्यक्ष सागर भटराई, इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक शम्भु बस्नेतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सुनसरीका हिसान आबद्ध उच्च माविका २५० धावक धाविकाहरू सहभागी रहेको कार्यक्रम संयोजक सुवास लुइँटेलले बताएका छन् ।